जनताका अपेक्षाअनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास भएको बताउनुभएको छ ।

बिपी ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “ऐतिहासिक र गर्व गर्न लायक राजनीति उपलब्धि हासिल गरेर पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।”

राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताउनुभयो । सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै उहाँले बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बिपीका विशेषता हुन् जुन हाम्रा लागि सधैँ प्रेरणाका रुपमा रहिरहनेछ ।” राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ वर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बिपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो । बिपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाइ लाग्दछ ।”

स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बिपीको दृढ मान्यता रहेको स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो, “राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”

कार्यक्रममा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ ९बीपी ट्रस्ट०द्वारा हरेक वर्ष प्रदान गरी साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई एकाउन्न हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : २५ बजे