प्रचण्डमा फट्याइँ गर्ने क्षमता गजबको छ । संविधान जोगाउन, लोकतन्त्र सुदृढ बनाउन र कम्न्युनिष्ट राजनीति बलियो पार्न नेकपा माओवादी केन्द्र बलियो हुनुपर्छ, भन्छन् ।
कम्फर्टेबल गठबन्धन नै बनाएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाएका छन् । त्यो सरकारमा महत्त्वपूर्ण मन्त्रालयहरू लिएर सहभागी पनि भएका छन् । सार्वजनिक मञ्चहरूमा गठबन्धन टिकाउनुपर्छ, एक्लै हिँड्ने प्रयास नहोस् भनेर सचेत गराउँदै अभिव्यक्ति पनि दिन्छन् । तर आफ्नो पार्टीको आन्तरिक कार्यक्रममा भने नेपाली काँग्रेसलाई गाली गर्दै क्रान्तिको कुरा गरेर नेता तथा कार्यकर्तालाई मूर्ख बनाउन पनि खोज्दै छन् ।
एकातिर गठबन्धन जोगाउनुपर्ने तर्क गर्छन् भने अर्कोतिर गठबन्धनको नेतृत्व गरिरहेको दललाई गाली गरेर क्रान्तिकारी हुन र देखिन खोज्छन् । यस्तो विरोधाभासपूर्ण बोली र व्यवहारले आफ्नो राजनीतिक विश्वसनीयता स्खलित भइरहेको तथ्यप्रति प्रचण्डले ध्यान दिन सकेका छैनन् । किनभने प्रचण्ड ज्यादै अप्ठ्यारो स्थितिमा पुगेका छन् । जसले गर्दा उनका बोली र व्यवहारहरू बीच कुनै तालमेल मिलेको छैन । कतिसम्म भने कहिले काँग्रेसलाई क्रान्तिकारी देखेर नेकपा एमालेलाई दक्षिणपन्थी भन्छन् त कहिले काँग्रेसलाई दक्षिणपन्थी भन्दै कार्यकर्तालाई क्रान्तिकारी हुन सिकाउँछन् । फेरि े काँग्रेससँगै सहकार्य गरेर कस्तो क्रान्ति गर्लान्? किन माओवादी कार्यकर्ताहरू प्रश्न गर्दैनन् ? काँग्रेसका नेताहरू प्रचण्डको षडयन्त्र र उपयोगितावादमा किन फसिरहेका छन् ? उत्तर खोज्नुपर्ने भएको छ ।
नेपाली काँग्रेस जोगाउन सत्ता चाहिने र सत्ता गठबन्धन जोगाउन शेरबहादुर देउवा नै प्रधानमन्त्री भइरहनुपर्ने परिस्थितिका बीच १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा नै सभापति बनाउनुपर्ने बाध्यतामा महाधिवेशन प्रतिनिधिहरू परेका छन् ।प्रकाशमान सिंह र बिमलेन्द्र निधिको देउवालाई समर्थन त्यसकै उपज हो ।
नेपालको संवैधानिक व्यवस्थालाई गतिशील, राजनैतिक अभ्यासलाई लोकतान्त्रिक, आर्थिक नीति र अभ्यास प्रगतिशील, प्रशासनिक प्रणाली जनमुखी, शैक्षिक व्यवस्था देशमुखी र न्यायिक प्रणाली निष्पक्ष र स्वतन्त्र नहुँदा देश अस्वाभाविक रूपमा नियन्त्रित अस्थिरता चाहनेहरूको षडयन्त्रको सिकार भइरहेको छ ।
बारम्बारको संवैधानिक तथा राजनैतिक व्यवस्थामा हुने परिवर्तन त्यसकै उपज भएको हामीले समय मै बुझ्न सकेनौँ । अमेरिकाले युद्धपछि बनाएर छोडिदिएको एक थान संविधानको जगमा जापान गरेको प्रगति देखेर पनि हामीले केही सिकनौं । हामीले ७० वर्ष संविधान कस्तो भन्ने राजनीति गरेर देशको बहुमूल्य समय खेर फाल्यौँ । फेरि अहिले पनि त्यही प्रकृतिको राजनीति गर्न खोजिरहेका छौँ । जसको नेतृत्व गर्न प्रचण्ड कस्सिएका छन् जसरी २०४६ को परिवर्तनपछि प्रचण्डले क्रान्तिको नाममा हिंसा र ध्वंसको राजनीति गरेका थिए ।
अझै पनि प्रचण्डले माओवादी कार्यकर्ताहरूलाई भ्रमित बनाएर क्रान्तिका आवरणमा देशको समय र भविष्य बरबाद बनाउँदै नियन्त्रित अस्थिरता चाहनेहरूको रणनीति सफल बनाउन खोज्दै छन् । दुर्भाग्य नै भन्नुपर्छ, माओवादी नेता तथा कार्यकर्ताहरू त्यो खालको षडयन्त्रप्रति सचेत देखिएनन् । जसले गर्दा प्रचण्ड अनियन्त्रित भएर नियन्त्रित अस्थिरता चाहनेको स्वार्थमा अराजक क्रियाकलाप गर्न उद्यतमात्र भएनन् नेपाली काँग्रेसलाई पनि आफ्नो सहयोगी बनाउन सफल भइरहेका छन् ।
नेपाली काँग्रेस जोगाउन सत्ता चाहिने र सत्ता गठबन्धन जोगाउन शेरबहादुर देउवा नै प्रधानमन्त्री भइरहनुपर्ने परिस्थितिका बीच १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा नै सभापति बनाउनुपर्ने बाध्यतामा महाधिवेशन प्रतिनिधिहरू परेका छन् ।प्रकाशमान सिंह र बिमलेन्द्र निधिको देउवालाई समर्थन त्यसकै उपज हो । सत्ता र गठबन्धन जोगाउने नाममा शेरबहादुर देउवालाई नै फेरि सभापति बनाउनु भनेको नेपाली काँग्रेसलाई कमजोर बनाउनु हो भन्ने कुरा सिंह र निधिहरूले किन बुझेनन्? नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले उत्तर खोज्नुपर्ने भएको छ । हुन त शेखर कोइरालाको टिम पनि रूपमा फरक देखिएता पनि सारमा कम्फर्टेबल सरकार जोगाउनुपर्छ भन्ने मान्यतामा नै अडिग देखिन्छ । किनभने उनीहरूलाई पनि दक्षिण–पश्चिम कै आशीर्वाद प्राप्त छ ।
नेकपा एमाले अर्थात् केपी शर्मा ओलीलाई राज्य सत्ताबाट हटाउन जसरी माझण्डहरूले अराजनैतिक तथा अप्राकृतिक तरिकाले शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल गठबन्धन बनाए त्यसले शेरबहादुर देउवालाई सभापति बन्ने अवसर जुटाइ दियो । किनभने पार्टी सत्ता र राज्य सत्ताको भरपुर उपयोग गर्न देउवालाई सजिलो भयो ।
पावर चेन पोलिटिक्सले शेरबहादुर देउवालाई दोस्रो पटक सभापति बनायो । त्यो पावर चेन पोलिटिक्सलाई शेखर कोइरालाहरूले बुझ्न सकेनन् । देउवालाई पार्टी सत्ता शक्तिले राज्य सत्ता दिलायो भने राज्य सत्ता शक्तिले अहिले पार्टी सत्ताको नेतृत्वमा फेरि पनि पुर्यायो । यो स्थितिमा पुर्याउने काम भने रामचन्द्र पौडेलहरूले नै गरेका थिए । शेरबहादुर देउवालाई सत्ता गठबन्धनको नेतृत्व गर्न रामचन्द्र पौडेलहरूले दबाब दिएका थिए । त्यही दबाबले शेरबहादुर देउवालाई सर्वशक्तिमान् बनायो ।
प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार ८ : ५३ बजे
प्रतिक्रिया