‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

सिमकोट (हुम्ला)। यहाँको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ । 

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप  लगाएको हो । छ महिनादेखि १५ महिना मुनिका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभी रुबेला टाइफाइडलगायत रोग विरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्य चौकीका अहेब राजेश थापाले जानकारी दिनुभयो । 

चार हजार मिटर अग्लो पाटन चौंरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप लगाइएको अहेब थापाले जानकारी दिनुभयो । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीसैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो । 

वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौंरीगाईसहित अन्य पशुु चरिचरनका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । रानीसैना खर्कमा गोठाला बसेका २० महिला र २३ पुरुष गरी ४३ गोठालेको स्वास्थ्य जाँचसहित औषधि उपचार गरिएको पनि संयोजक भण्डारीले बताउनुभयो । 

स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिकासहित छिमेकी बाजुरा जिल्लाका रानीसैना पुगेका गोठाला, जडिबुटी खन्न पुगेका नागरिकको उपचार गरिएको उहाँले बताउनुभयो । स्याडा स्वास्थ्य चौकीका इन्चार्ज लवी रावतको नेतृत्वमा घुम्ती शिविरमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो । 

बर्खायामको झरीसँगै कठिन यात्रामा खटिइ सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ । गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिकाभित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरिक स्वास्थ्य उपचारबाट कोही नछुटुन भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३१ बजे