निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबाबबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका छन् ।

आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका हुन् । यस अवसरमा अर्थमन्त्री पौडेलले सरकार अर्थतन्त्रबाटबाट दबाब र शिथिलताको अवस्थामा रहेको भन्दै शिथिलताको अवस्थाबाट बाहिर निकाल्न निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले कार्पेट व्यवसायीहरुको अभिव्यक्ति र भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै यस विषयमा सरकारले छलफल गर्नेे विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकार अर्थतन्त्रबाट जुन प्रकारको दबाबमा छ । जुन प्रकारको शिथिलताको अवस्था छ । यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ । यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनि मात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौँ । म आग्रह गर्छु तपाईंहरुले दिनुभएको अभिव्यक्ति तपाईंहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ । यसलाई हामी छलफलको विषय बनाउने छौँ । ’

उहाँले समस्या समाधानभन्दा अगाडि समस्या के हो भनेर बुझ्न जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या समाधानभन्दा अगाडि समस्या के हो भनेर बुझ्नुपर्छ, समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्छ ।’

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : ०५ बजे