सांस्कृतिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका

विश्वबाट जसरी भू–साम्राज्यवादी समाप्त हुँदै गए, त्यसको ठाउँमा सांस्कृतिक साम्राज्यवाद  (Cultural imperialism) विकसित भएको छ । विशेष गरी, पश्चिमा मिडियाहरूले एसिया तथा अफ्रिका जस्ता अल्पविकसित मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गरेका छन् । 

हाम्रो संस्कृति विकसित या विकृत हुनुमा मिडियाको सबैभन्दा ठुलो भूमिका हुन्छ । किनभने सञ्चार माध्यममा आएको विषयलाई धेरैले देखासिकी गर्ने प्रवृत्ति छ । हाम्रो समाजमा सामाजिक रूपान्तरण  (Cultural Change) गर्न मिडियाको ठुलो भूमिका रहेको हुन्छ । मिडियाहरू पश्चिमा सञ्चार माध्यमबाट प्रभावित भए भने हाम्रो जस्तो अल्पविकसित देशमा नराम्रो प्रभाव पर्छ । 

नेपालका सञ्चार माध्यमहरू विशेष गरी अनलाइन र टी.भी.च्यानलहरू पश्चिम प्रभावित भएको पाइन्छ । संस्कृतिको प्रसारमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू, अन्तर्राष्ट्रिय विज्ञापन एजेन्सीहरू, अन्तर्राष्ट्रिय जनसम्पर्क संस्थाहरू, फिल्म, सिडी, भिसीडीहरूको मुख्य भूमिका रहेको हुन्छ ।  

छरिएर रहेका हाम्रा अमूल्य सांस्कृतिक सम्पदा तथा व्यवहारहरू सबैका लागि खोजेजस्तै नहुन सक्छन्, तर ती सबै हाम्रा बहुमूल्य पहिचान हुन् । समाजबाट संस्कृति लोप भयो भने जाति र भाषा समेत लोप हुने खतरा हुन सक्दछ । हामीले भाषिक, जातीय, सांस्कृतिक विभेद गर्नुपर्दछ र जाति, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धन नै गर्नुपर्दछ । 

राजनीतिक रूपमा नेपाल जस्ता संक्रमणकालमा रहेका मुलुकहरूले जति बजेट शिक्षा, स्वास्थ्यमा खर्च गर्छौँ त्यति नै बजेट सञ्चार माध्यमका लागि पनि छुट्ट्याउन आवश्यक छ । समाज रूपान्तरणको लागि मिडियाको महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो जस्तो मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव यति परेको छ कि त्यसको कतै लेखा—जोखा नै छैन । सांस्कृतिक साम्राज्यवाद भनेको समाजलाई विभिन्न नाममा आफू अनुकूल बनाउन चलाख हुने रहेछ । 

कम्युनिष्ट मुलुक भनिएको चीनमा समेत धेरै पटक विश्व सुन्दरी प्रतियोगिताहरू भइरहेका छन् । जबकि त्यहाँको धार्मिक, ऐतिहासिक, राजनीतिक र सांस्कृतिक दृष्टिले चीनमा सुन्दरी प्रतियोगिता गर्न समर्थन गर्दैन । तर पनि  दक्षिण एसियामा यस्ता कार्यहरू भई नै रहेका छन् । 

नेपाल त चीनको तुलनामा निकै सानो छ । धेरै विषयमा आत्मनिर्भरता पनि छैन । चीन त एउटा उदाहरण मात्र हो । सांस्कृतिक रूपमा विश्वमै अद्वितीय क्षेत्र मानिने नेपालको आकाशबाट निर्बाध रूपमा फेशन टेलिभिजन जस्ता पश्चिमा टेलिभिजनका दृश्य घर घरमा पुगेका छन् । अरू च्यानललाई पैसा तिर्नुपर्छ तर फेशन टेलिभिजनलाई पैसा तिर्नु पर्दैन । यस च्यानलले हामी गरिब भएको हुनाले पैसा नलिएको होइन । नेपालमा प्रचलित धर्म, संस्कृति, रीतिरिवाजलाई पश्चिमको प्रभाव पार्न यसो गरिएको हो ।

यति मात्र होइन ‘नेपालीका लागि गाईको मोही ठिक कि कोकाकोला ?’ पक्कै कोकाकोला होइन, तर खाने संस्कृति परिवर्तन भइरहेको छ । व्यावसायिक हिसाबमा पनि मोहीको व्यापार पक्कै गर्न सकिन्छ । अवस्था यस्तो देखा पर्दैछ कि कुनै पनि अन्तर्राष्ट्रिय ब्राण्डलाई सहजै चिन्ने अबका पिँढीले मोहीको अर्थ शब्द कोषबाट मात्र पत्ता लगाउन सक्नेछन् । 

प्रत्यक्ष वा परोक्ष रूपमा यस्तो प्रभाव हरेक क्षेत्र, हरेक समुदाय र हरेक वर्गमा परिरहेको छ । सामाजिक रूपान्तरण हुने क्रम बढिरहेको छ । देखासिखी गर्ने परिपाटीको विकास भएको छ । बौद्धिक पक्षभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रमले कडा असर देखाएको छ किन की पश्चिमाहरू सांस्कृतिक साम्राज्यवाद फैलाएर संसारभर आफ्नो प्रभाव र व्यवसाय फैलाउन चाहन्छन् । यो उनीहरूको गल्ती नभई हाम्रो खस्कँदो सांस्कृतिक चेतको विषय हो । 

नेपालमा बन्ने कपडा हामी लगाउँदैनौ, पुग्ने मात्रामा उत्पादन पनि छैन । UFO का ३० भन्दा बढी स्टोर नेपालमा खुलेका छन् । अहिलेकै अवस्था बढ्दै जाने हो भने केही वर्षपछि हाम्रो घाँटु नाच, रोइला, टप्पा, ठाडो भाका जस्ता गीत—सङ्गीतका माध्यमबाट प्रकट हुने संस्कृति धराशायी हुनेछ । यी विधा महँगो रोयल्टी तिरेर सीएनएन र बिबिसीबाट सुन्न र हेर्न नपर्ला भन्न सकिन्न । त्यसैले आजैदेखि आफूलाई राष्ट्रवादी भन्ने राजनीतिक शक्तिहरूले आफ्नो सैद्धान्तिक दस्ताबेज र कार्यक्रम र व्यवहारमा मौलिक संस्कृति रक्षा र विकासको विषयलाई प्राथमिकताभित्र राख्न आवश्यक देखिन्छ । 

भनिन्छ, समय अनुसार सांस्कृतिक रीतिरिवाज तथा मूल्यमान्यतालाई परिष्कृत गर्दै लैजानु पर्छ, तर परिष्कृत गर्ने नाममा विकृति आउन दिनु हुँदैन । हाम्रो संस्कृतिभित्र रुढीवादी परम्परा छन् । तिनमा समयसापेक्ष सुधार गर्दै जानुपर्छ । यसो गरेर मात्र असल मौलिक संस्कृति निर्माण र विकास गर्न सकिन्छ ।  खाद्य, पेय, बसाउठी, पहिरन आदिमा मौलिकता जोगाउन त्यसभित्र असुहाउँदिला पक्षमा परिमार्जन परिष्कार गर्दै अघि बढ्नु आजको सांस्कृतिक आवश्यकता हो । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ४२ बजे