साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज तीज र चौरचन पर्व मनाइँदै

महोत्तरी। तीज र चौरचन पर्व आज एकैदिन परेको छ । भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो ।

तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । त्यसैगरी चौथी तिथिको चन्द्रोदय पनि आजै साँझ परेपछि मिथिलामा चौरचन पर्व आजै मनाइन पर्नेे बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेका हुन्”, उहाँले भन्नुभयो ।

चौरचन पर्वमा आँगनमाझमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै वर्तालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने परम्परा छ । वर्तालुले दिनभरि निराहार व्रत बसेर चौथीका चन्द्रमालाई खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल देखाएर यो पर्व सम्पन्न गर्छन् । चन्द्रदर्शनपछि इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाइने चलन छ ।

यहाँको परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला दुवैले गर्नसक्ने व्रत विधान छ । तर मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलामा चौरचन मुख्य पर्वमध्ये मानिन्छ ।

भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने, चन्द्रमाको कृपाले कान्ति बढ्ने र जीवनमा सुखशान्ति प्राप्त हुने जनविश्वास छ । अघि द्वापरयुगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत् महापुराण र कृष्णलीला माहात्म्यमा वर्णित छ । त्यसै बेलादेखि चौरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ४५ बजे