‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विश्व फुटबलमा रोनाल्डो र मेसीको ‘इरा’ सकिएको हो ?

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको इरा सकिएको विश्लेषण सुरु भएको छ ।

हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड ‘बेलुन डो अर’ अवार्डको मनोनयन सार्बजनिक हुँदा सो सूचीमा रोनाल्डो र मेसीको नाम नभएपछि अब दुवैको २१ बर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो ।

विश्व फुटबलका पछिल्ला २१ बर्षमा पहिलो पटक ‘बेलुन डो अर’को मनोनयनमा रोनाल्डो र मेसी छैनन् । २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेसी दुवै जना एकै पटक ‘बेलुन डो अर’को मनोनयनमा नपरेका हुन् ।

मेसीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक ‘बेलुन डो अर’ उपाधि जितेका छन् । मेसीले अघिल्लो बर्षनै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पछिल्लो पटक यो अवार्ड २०१७ मा जितेका थिए ।

गत बर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने २०२३ को जुनमा मेसी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे । अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेसी रमाइरहेका छन् । रोनाल्डोले गत बर्ष ५० गोल गरे भने मेसीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए ।

३९ बर्षीय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् । त्यस्तै मेसी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ७ : ३८ बजे