साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे

दमौली (तनहुँ)।तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।

गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिँचाइतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक वृद्धि भएको वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिँचाइतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्ती एक सय ६९, मन्दिरतर्फ दुई सय तीन, अन्य एक सय सात ग्राहक पुगेका छन् ।

वितरण केन्द्रले सो अवधिमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट बिक्री गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा ५ दशमलव ९३ प्रतिशतले बढी हो । यसक्रममा पाँच करोड १० लाख ३२ हजार चार सय ८९ युनिट विद्युत बिक्री भएको थियो ।

कार्यालयले आव २०८०÷८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ को विद्युत् बिक्री गरेको छ । आव २०७९÷८० मा रु ४८ करोड ७७ लाख ३८ हजार सात सय ७६ को विद्युत् बिक्री भएको थियो ।

केन्द्रले त्यस वर्ष ७ दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेका छौँ । हुकिङ, मिटर वाइस छैन । वायरलस, लिकेज, रुख हाङ्गा, भोल्टेज ड्रप, ट्रान्सफर्मर लस नियन्त्रणमा आएको छ ।”

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क परिवर्तन, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायतका कार्य गरेको उहाँको भनाइ छ ।

वितरण केन्द्र तनहुँको कार्यक्षेत्र तनहुँसहित कास्की र लमजुङ जिल्लासमेत पर्दछ । केन्द्रले व्यास नगरपालिकाका सबै वडाहरु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरु, भानु नगरपालिका–९, १०, ११ बाहेक सबै वडा, देवघाट गाउँपालिका–१, २, ३, ४ र ५ वडा, ऋषिङ गाउँपालिकाका सबै वडा, म्याग्दे गाउँपालिकाका सबै वडा, लमजुङको मध्यनेपाल नगरपालिकाका–१, २, ३, ४, ५ र कास्कीको रुपा गाउँपालिका ३ र ४ हो ।

कार्यालयले मुख्य कार्यालयसहित १३ उपवितरण तथा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । केन्द्रका अनुसार तनहुँ वितरण केन्द्र चापाघाट कार्यालय तथा काउन्टर, डुम्रे उपवितरण केन्द्र, आँबु उपवितरण केन्द्र, दुईपिप्ले पिप्ले नोलाइट, थर्पु नोलाइट, बन्दीपुर, ऋषिङ, केशवटार, नारेश्वरटार, पुर्कोट, वसन्तपुर, सेपाबगैँचा, चन्द्रावती, पोखरीछाप नोलाइट तथा फिउज सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ५६ बजे