साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रचण्डको अभिव्यक्ति अलोकतान्त्रिक 

सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलोकतान्त्रिक अभिव्यक्ति दिन थालेको बताउनुभएको छ । 

महासचिव पोखरेलले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा डोर्याउने प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो ।  

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुँदैनथ्यो । त्यो अभिव्यक्ति लोकतान्त्रिक हुन सक्दैन ।
आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले  राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने धारणा दोहोर्याउनुभयो । 
उहाँले एमाले र कांग्रेसले दुईदलीय व्यवस्थाको वकालत नगरेको स्पष्ट गर्नुभयो । 

महासचिव पोखरेलले भन्नुभयो– मैले दुईदलीय प्रणालीको कुरा गरेको छैन । मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ । नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । 

अर्को प्रसङ्गमा सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको उहाँले बताउनुभयो । उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गर्नुभयो ।

 
२०८४ मा एमाले बलियो शक्ति भएर आउँछ
२०८४ मा एमाले देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने महासचिव पोखरेलको विश्वास छ । 
लोकतन्त्रलाई सुदृढ गर्न बलियो शक्ति आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनुभयो । 

युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको स्पष्ट गर्दै उहाँले युवालाई रोजगारीका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा जोड दिनुभयो । 
महासचिव पोखरेल नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्वोधन गर्न सुर्खेत पुग्नुभएको हो । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ६ : ५७ बजे