‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्‍यो : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यसचिव अर्यालले सङ्घीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै नै समस्याहरू भएको भन्दै कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको बताउनु भयो । उहाँले प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर परेको बताउनु भयो । कानुन नहुँदा प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न नसकेको उहाँको भनाई छ । जनशक्तिको व्यवस्थापन हुन नसक्दा संघ देखि स्थानीय तहसम्म नै सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘संविधान प्रारम्भ भएपछि कर्मचारी व्यवस्थापन तत्काल गर्नुपर्ने सरकारलाई आवश्यकता प¥यो । छिटो समायोजन ऐन ल्याइयो र त्यो कर्मचारी समायोजन तत्कालीन अवस्थामा गरियो । समायोजन प्रक्रिया समाप्त भयो भनियो । त्यो एउटा सनसेट ल को रूपमा आएको थियो । समायोजन ऐन त्यही रूपमा पछि कार्यान्वयन हुन सकेन । त्यसले गर्दा खेरी कर्मचारीका वृत्ति विकास लगायतका विषयहरूमा ज्यादै अफया्ठ्यारो परेको कुरा पनि म निवेदन गर्न चाहन्छु । राजनीतिक रूपमा संघीयता आयो । तर प्रशासनिक हिसाबमा हामी संघीयतामा जान सकिएन । त्यसले गर्दा सेवा प्रवाहमा असर प¥यो । प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न सकेको स्थिति छैन । किनभने जनशक्तिको व्यवस्थापन गर्न सकिएन । त्यस्तै स्थानीय तहहरूमा वडा कार्यालयहरूमा पनि सेवा प्रवाहमा यावत विषयहरूमा काम सम्पन्न हुन सकेको छैन । किन भन्दाखेरी संघीय निजामती सेवा ऐनले प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापन गर्नुपर्ने विषय थियो, त्यो विषय हामीले गर्न सकिएन । संविधान विपरीत गएर हामीले कानुन बनाउने अवस्था रहेन । त्यसैले प्रदेशले बनाएका कानुनमा पनि केही कन्फ्युजन रहन गयो । जस्तो ः प्रदेशमा के कानुन बन्यो भन्दाखेरी ६० वर्ष उमेर कायम भयो केही प्रदेशहरूमा । सातै प्रदेशका सातै वटा प्रकारका कानुनहरू निर्माण भए । वृत्ति विकासका कुराहरू, प्रमोशनका कुराहरू अलग–अलग भए । त्यो कारणले अहिलेको प्रचलित निजामती सेवा ऐन २०४९ को जुन कानुन छ, त्यो कानूनले त्यो कार्यान्वयन गर्न अनुमति दिएन । त्यसले गर्दा केही कर्मचारी साथीहरूको पेन्शनपट्टा पनि नबनेको अवस्था छ । बढुवाको कुरा पनि छ । त्यस्तो हतोत्साहि भएको कर्मचारीतन्त्रले सेवा प्रवाह गर्न सकेन भनेर हामीले कति दिनसम्म भनिरहने रु त्यसकारण यसलाई उच्च प्राथमिकतामा राखेर पारित गर्नुपर्छ । प्रशासनिक सङ्घीयतालाई कसरी मजबुत बनाउने र सेवा प्रवाहमा अहिले जनताले अपेक्षा गरे बमोजिम निजामती सेवाको परिकल्पना कस्तो हुने हो भन्ने कुरा निकास भयो भने हामीलाई सहज हुन्छ । १५८३वटा संशोधन प्रस्ताव हेर्दाखेरी सबै कर्मचारीलाई सम्बोधन गरेर निजामती सेवा ऐन आउन सक्दैन । कानूनले अधिकांशलाई गर्नुपर्छ । तर सबैलाई सम्बोधन गरेर आउन सक्दैन । तर यो कानुन निजामती कर्मचारीको हितमा मात्रै हुनु भएन । यो कानुन त सेवाग्राहीमैत्री हुनुपर्छ । जनताको तर्फबाट पनि कानूनलाई हेरिदिनुप¥यो । प्रशासकीय अधिकृत खटाउने कुरामा कन्फ्युजन छ । हामीले खटाएको त्यहाँ हाजिर हुँदैन ।’

उहाँले प्रशासनिक सङ्घीयतालाई मजबुत बनाउने गरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । उहाँले विधेयक छिटो पारित नभएमा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ३ : १९ बजे