साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस—एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताउनु भयो ।  उहाँले देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने बताउनु भयो । उहाँले चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमाले र काँग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको बताउनु भयो । यसबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको बेला चुनौतीपूर्ण ढंगको अवस्था पनि छ । चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरूक हुनुहुनेछ । कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग काँग्रेस र काँग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन । एमाले र काँग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरू साथीहरूले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’


सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताउनु भयो । उहाँले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताउनु भयो । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनु भयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : ३३ बजे