साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गुञ्जिन थाले तीजका भाका

म्याग्दी (बेनी)
छोरी : ‘पराइ घरमा दुःख पाएकी छोरीलाई के लाउँछ,
आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’
आमा : ‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी
अहिलेको तीजमा त छोरी आउनी होला नि’

यी भाका मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा आयोजित तीज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन् । महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा स्थानीय लाल युवा क्लब, भगवती र शिवालय आमा समूहले संयुक्त रुपमा महिला दिदीबहिनीका लागि दर खुवाउने कार्यक्रम आयोजना गरिएको थियो । विवाह गरेर पराइ घरमा गएकी छोरी र तीजमा छोरीको पर्खाइमा रहनुभएकी आमाबीचको भालाकुसारीलाई गीतमार्फत प्रस्तुत गरिएको थियो ।

रातै सारिमा सजिएका महिलाहरु कोही गाउने, कोही नाच्ने लहरमा थिए । गाउन र नाच्न नमान्नेहरु ताली बजाएर साथ दिइरहेका थिए । गाउँका अगुवा पुरुषहरु आमाछोरीको दोहोरीमा मादल बजाएर साथ दिइरहेको दृश्यले नेपाली मौलिक तीज पर्व मनाउने पुरानो चलनको आभास दिएको थियो ।

दुई आमा समूहबीचमा भएको दोहोरी प्रस्तुतिले कार्यक्रममा सहभागी भएका सबैको मन जितेको लाल युवा क्लबका पूर्वअध्यक्षसमेत रहनुभएका स्थानीय राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताउनुभयो ।

“कार्यक्रममा पुरानो भाकामा दिदीबहिनीहरुले दोहोरी गाउनुभयो, दोहोरीमा महिलाका पीर, वेदना र भावनाहरु पोखिए, नाच्दानाच्दै कतिपयको आँखा पनि रसाए, हामीले पनि साँच्चिकै तीज विशेष कार्यक्रम भएको महसुस गर्‍यौँ’’, उहाँले भन्नुभयो । पछिल्लो समय तीज विशेष कार्यक्रमहरु खर्चिलो र भड्किलो बनिरहेको सन्दर्भमा तीजलाई सामूहिक र मौलिक तरिकाले मनाउने वातावरण सिर्जना गर्न कार्यक्रमले सघाएको राम्जालीको भनाइ छ ।

पछिल्लो समय तीज पर्वमा भित्रिएको विकृति र विसङ्गितलाई हटाउन म्याग्दीमा मौलिक र रचनात्मक ‘तीज गीत प्रतियोगिता’ आयोजना हुन थालेका छन् । अखिल नेपाल महिला सङ्घ म्याग्दीले मङ्गलबार बेनीमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा ३१ टोलीको सहभागिता थियो । प्रतियोगितामा सहभागी महिलाहरुले महिला सशक्तीकरणको विषयमा आफ्ना प्रस्तुति राखेका थिए । म्याग्दीलगायत क्षेत्रमा गुञ्जने पुराना भाकामा सहभागीहरुले तीज गीत प्रस्तुत गर्दा कार्यक्रम सङ्गीतमय बनेको थियो ।

प्रतियोगितामा मङ्गला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना हुनुभएको छ । विजयी टोलीहरुलाई नगद क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन/तीन हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको सङ्घका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।

तीज पर्वका अवसरमा आयोजना गरिएका प्रतियोगिताले पुराना र मौलिक भाकाहरुको संरक्षण गर्न सघाउ पुर्‍याएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा निर्णायकको भूमिका निभानुभएका जिसीले तीज गीत प्रतियोगिताले जिल्लामा रहेका पुराना र मौलिक भाकाको संरक्षण र प्रवर्द्धन गर्न सघाउनाका साथै साङ्गीतिक उत्सवमा पर्व मनाउने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : १७ बजे