ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति पछि माघ १९ मा ‘कु’ भएको ओलीको खुलासा

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति भएको खुलासा गर्नुभएको छ । 

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गर्नुभएको हो । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उहाँले भन्नुभयो , ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’ 

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भन्नुभयो ,‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले‘‘कु’ गरे ।’ 

१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताउनुभयो  । ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’ ओलीको प्रश्न थियो ।

‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो । ओलीले नेपालमा बाहिर बाहिर क्रान्तिकारी र परिर्वतनका कुरा गर्नेहरुले भित्रभित्र जनविरोधी पश्चगामी कदम चालिरहेकाले मुलुक त्यसको मार खेप्नु परिरहेको बताउनुभयो । यस्ता क्रिायकलापहरलाई जनदवावबाट परास्त गरिने पनि ओलीले ठोकुवा गर्नुभयो । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ४८ बजे