‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीनवर्षे डिप्लोमा गरेकाको इन्जिनियर बन्ने धोको पुरा गर्दै नेक बिडिएच

काठमाडौं । एसईई उत्तीर्ण गरेपछि तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा बोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेर जागिर खाइरहेकालाई त्यसभन्दा माथिको उच्च शिक्षा हासिल गर्न सहज छैन ।

दैनिक ६ घण्टा हप्ताको ६ दिन कलेज धाएर पढ्नुपर्ने बाध्यताले गर्दा पनि डिप्लोमा होल्डर्समा आफ्नो पढाइको चाहना मनमै दबाएर राख्नुपर्ने परिस्थिति छ । यद्यपि ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पढ्दै काम गर्ने सोच बनाएकाहरूलाई उपाय नभएको हैन ।
डिप्लोमा गरेर सरकारी तथा गैरसरकारी निकायमा काम गरिरहेकाहरूलाई पढेर विश्वविद्यालयको सर्टिफिकेट हासिल गर्ने सहज उपाय सन्ध्याकालीन कक्षा हुन सक्छ । यो व्यवस्था त्यति सर्वसुलभ र सहज भने छैन ।
सिटिइभिटीको डिप्लोमा होल्डर्स विद्यार्थीलाई मध्यनजर गरी नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेको छ । त्यहाँ साँझको समयमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा तीनवर्षे डिप्लोमा (सिभिल वा आर्किटेक्चर) र ९ देखि १२ सम्मको राष्ट्रिय परीक्षा बोर्डको टेक्निकल–भोकेसनल सिभिल इन्जिनियरिङ गरेकाहरूको उच्च शिक्षा लिने चाहना पुरा गर्न ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स कार्यक्रम सञ्चालन गरिएको हो ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक आधिकारिक रूपमा सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सब–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ पढ्न पाउन् भनेर नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन संस्थापक अध्यक्ष स्व. प्रा. डा. दीपक भट्टराई, पूर्वप्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ र प्रा. डा. राजेन्द्रप्रसाद अधिकारीले पोखरा विश्वविद्यालयसँग समन्वय गरी सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गर्नुभएको हो ।

सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहना भए पनि उच्च शिक्षाबाट वञ्चित सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सब–इन्जिनियरहरूलाई कुशल सिभिल इन्जिनियर बन्ने अवसर प्रदान गरिएको नेकका प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउनुहुन्छ ।

नौ सेमेष्टरको यो बिडिएच कार्यक्रम अन्य कार्यक्रमभन्दा एक सेमेष्टर लामो छ । स्नातक तहका अन्य कोर्स चार वर्षे हुँदा यो कोर्स पुरा गर्न भने साढे चार वर्ष लाग्छ । नेपाल इन्जिनियरिङ कलेजले ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स कार्यक्रम बेलुका ५ः३० देखि ९ः०० बजे (माघदेखि कात्तिकसम्म) र बेलुका ४ः३० देखि ८ः०० बजे सम्म (कात्तिकदेखि माघसम्म) सञ्चालन गर्दछ । साँझ सञ्चालन हुने कक्षाका कारण सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सब–इन्जिनियरहरूले सिभिल इन्जिनियरिङ अध्ययन गर्न कार्यालयबाट अध्ययन बिदा लिनुपर्ने तथा जागिर नै छाडेर पढ्नुपर्ने बाध्यता छैन ।

नेक बिडिएच कार्यक्रममा १३० क्रेडिटको हुन्छ । हप्ताको ६ दिन बेलुका सैद्धान्तिक पढाइ र शनिबार बिहान ७ बजेदेखि ३ बजेसम्म प्रयोगात्मक कक्षा हुने गर्दछ । सन् २००१ देखि २०२१ सम्म आई पुग्दा नेक बिडिएचमा ९०० भन्दा बढी विद्यार्थीले सिभिल इन्जिनियरिङ अध्ययन गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको दुईवर्षे डिप्लोमा कार्यक्रम हुँदा फिजिक्स केमिष्ट्री र गणितको विस्तृत अध्ययन नहुने हुनाले विज्ञान र गणित विषय समावेश गरी थप एक सेमेष्टर अध्ययन गराउनुपरेको थियो । हाल तीनवर्षे डिप्लोमा कार्यक्रम भएको अवस्थामा यसलाई परिमार्जन गर्ने प्रस्ताव पोखरा विश्वविद्यालयसँग गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : १७ बजे