साफ यू–१७ च्याम्पियनसिप आजदेखि

केन्द्रीय समितिको बैठकको निर्णय

संविधान संशोधनसहितको सातबुँदे कार्यान्वयन गर्न कांग्रेसमा सर्वसम्मत

काठमाडौं । एमाले र कांग्रेसबीच भएको समीकरणमा विभिन्न कोणबाट अनेक प्रश्न उठाउन खोजिए पनि कांग्रेसले त्यसको कडा प्रतिवाद गरेको छ । सो पार्टीको आइतबार जारी केन्द्रीय समितिको बैठकले यस विषयमा जोड दिँदै संविधान संशोधनको पक्षमा आफूलाई उभ्याएको हो । सो पार्टीको बैठकले सात बुँदे सहमतिको पुष्टि गर्दै त्यसै अनुरुप संविधान संशोधनको पक्षमा सर्वसम्मत निर्णय गरेको छ।

‘७ वुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ’ सो पार्टीले आइतबार गरेको निर्णयमा उल्लेख छ।

बैठकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रुपमा संविधानको मर्म बमोजिम सबै जाति, भाषा, लिंग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी सघन छलफल गर्ने पनि सो पार्टीको निर्णयमा उल्लेख छ ।
बैठकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानूनहरूको प्रक्रिया अविलम्ब प्रारम्भ गर्न नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिबद्धता दोहो-याउँदै त्यसमा अग्रसरता लिने निर्णय गरेको बैठकको निर्णयमा उल्लेख छ ।

बैठकले आगामी निर्वाचनमा चुनावअघि कुनै गठबन्धन नगर्ने निर्णय गरेको बैठकपछि सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ३४ बजे