भाद्र कृष्ण अमावस्या तिथिलाई कुशोत्पाटिनी अमावाश्या अर्थात् कुश उखेल्ने दिन (कुशेऔँसी) भनिन्छ । अझ सोमबार कुशेऔँसी पर्नु अत्यन्त दुर्लभ संयोग हो । यस अवसरमा कुश के हो ? कुशको उत्पत्ति कसरी भयो ? कुशलाई कसरी घरमा ल्याइन्छ ? यसलाई के–के काममा प्रयोग गरिन्छ ? भन्ने जस्ता विषयमा कुशको प्रयोग गर्नेहरू यजमान तथा पुरोहितमा जानकारी हुनु आवश्यक छ ।
कुश के हो ?
नेपालीमा कुश संस्कृतमा दर्भ र एराग्रोस्टिस साइनोजोरियसको वैज्ञानिक नाम भएको झार वर्गको वनस्पति हो यो । यो निकै जीवनोपयोगी छ ।
यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम् ।।
कुशलाई स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशूलजस्तै शक्तिशाली मानिएको छ । कुशमा कुनै प्रकारको किरा नलाग्नुले यो कुरालाई पुष्टि गर्दछ । दर्भ (कुश) तत्काल फल दिन सक्ने औषधि हो, यसलाई आयु वृद्धिका लागि धारण गर्नुपर्छ पनि भनिएको छ ।
दर्भो य उग्र औषधिस्तं ते बध्नामि आयुषे ।
कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको बास हुन्छ भन्ने विश्वास छ ।
कुशाः काशाः शरा दुर्वा यवगोधूमबल्वजाः ।।
सुवर्णां रजतं ताम्रं दशदर्भाः प्रक्रीर्तिताः ।।
कुशको अभावमा यसको विकल्पका रूपमा प्रयोग हुने काश, शिरु, दुबो, जौ, गहुँ, बाबियो, सुन, चाँदी र तामा यी नौ र कुश गरी दश वस्तुलाई दश दर्भ पनि भन्ने गरिन्छ । कुशको अभावमा यी नौ वस्तुमध्ये कुनै एकलाई पनि प्रयोगमा ल्याउन सकिने शास्त्रोक्त विधान छ ।
कुशको उत्पत्ति
कुश उखेल्नुभन्दा पहिले प्रार्थना गर्ने मन्त्र अर्थाउँदा कुशको उत्पत्ति स्वयं ब्रह्मासँगै भएको बुझिन्छ ।
ॐ विरिन्चिना सहोत्पन्न परमेष्ठिनिसर्गतः ।
नुद सर्वाणि पापानी दर्भ स्वस्तिकरो भव ।
अर्थात् ब्रह्मासँग सह–जन्म र सर्वोच्च भगवानद्वारा निर्मित हे दर्भा, सबै पापहरू विनाशगरी शुभकर्ता बन ।
इन्द्रादि देवताहरूले पनि कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग पुराणहरूमा पाइने हुँदा ब्रह्माजीको उत्पत्तिसँगै कुशको पनि उत्पत्ति भएको हो भन्ने कुरा नकार्न सकिँदैन ।
मत्स्य पुराणमा उल्लिखित एक कथा अनुसार भगवान श्रीहरिले वराह अवतार धारण गरी हिरण्याक्षको वध गरेर पृथ्वीलाई जलबाट बाहिर निकाली निर्धारित स्थानमा स्थापित गरिसकेपछि पशु प्रवृत्ति अनुसार आफ्नो शरीरमा लागेको पानीलाई टक्टकाउँदा वराहरूपी भगवानका रौँहरू पृथ्वीमा खसेर कुशको रूपमा उत्पत्ति भएको हो ।
स्वस्थानी कथाको एक प्रसंगमा वृन्दाले विष्णु भगवानलाई घाँस हुनुपरोस् भन्ने श्राप दिएका कारण उत्पन्न घाँस नै कुशका रूपमा आएको भन्ने कुरा उल्लेख छ । अर्को पौराणिक प्रसंग अनुसार जब सीता पृथ्वीको तल प्रवेश गर्नुभयो, त्यो समयमा श्रीरामले पृथ्वी फाटेको ठाउँमा आएर छिटो छिटो गरी सीताजीलाई रोक्ने कोसिस गर्दा उहाँको हातमा केवल सीताजीको कपालका रौंहरू मात्र आए र सोही रौँ नै कुशका रूपमा परिणत भए भन्ने मान्यता पनि छ ।
कुशलाई कसरी घरमा ल्याइन्छ ?
कुशलाई जुनसुकै दिनमा प्रातः कालमा स्नानादि नित्य कर्म सकी शुक्लपट्ट अर्थात् सेतो धोती लगाएर विधिपूर्वक पूजा गरी माथि उल्लिखित मन्त्रद्वारा प्रार्थना गरेर प्रातः कालमै अर्थात् बिहानै काटेर वा उखेलेर ल्याउन सकिन्छ ।सबै कार्यमा उखेलेको वा काटेको दुवै थरी कुश चल्ने तर पितृकार्यका लागि जरैसँगको कुश चाहिने हुँदा कुश उखेलेर ल्याउने गरिन्छ । कुश उखेल्दा पूर्व वा उत्तरतिर फर्केर ‘ॐ हुं फट् स्वाहा’ भनी पितृतीर्थ (बुढीऔँला र चोर औँलाको बीच) बाट समातेर उखेल्नुपर्छ ।
अरू दिनमा उखेलेको कुश त्यो दिनलाई मात्र चल्छ बाँकी दिनमा बासी ठहर्छ, अन्य औंसीमा उखेको कुश एक महिनासम्म चल्छ बाँकी दिनमा बासी ठहर्छ । भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीमा उखेको कुश एक वर्षसम्म चल्छ त्यसपछि बासी ठहर्छ । यदि सोमबार कुशे औंसी परेको छ भने त्यो दिनमा उखेलेको कुश बाह्र वर्षसम्म चल्छ । सोमबार कुशे औंसी बिरलै पर्ने तथा बाह्र वर्षका लागि एकै पटक कुश संकलन गर्न अव्यावहारिक हुने, दिनदिनै कुश ल्याउन झन्झटिलो हुने हुँदा हरेक कुशे औंसीमा वर्षदिनलाई पुग्ने गरी कुश उखेल्ने गरिएको हो । हिन्दु परम्परामा हरेक कुशेऔँसीमा पुरेतले आफ्ना यजमानकहाँ कुश पुर्याई यथोचित दान दक्षिणा लिने चलन छ ।
कुशलाई के–के काममा प्रयोग गरिन्छ ?
धार्मिक कार्यमा
कुनै ब्राह्मणलाई दान दिनुपर्यो तर उनको अनुपस्थिति भएमा उनको प्रतिनिधि पात्रस्वरूप कुशको ब्राह्मण बनाई त्यहीँ दान दिएर ब्राह्मणका हातमा पुर्याउने प्रचलन छ ।
तीर्थ जान इच्छा हुँदाहुँदै मातापिता परलोक भएमा उहाँहरूको स्मरण गर्दै कुश लिएर तीर्थमा स्नान गरियो भने उहाँहरूको तीर्थस्नानको इच्छा पुरा हुन्छ भन्ने विश्वास रहिआएको पाइन्छ । बाढी पहिरोमा वा खोलानालामा परी लास प्राप्त गर्न नसकिएका वा सय वर्षभन्दा बढी समयदेखि हराई सम्पर्कमा नआएका आफ्ना स्वजनहरूको किरिया गर्नुपरेमा कुशको पुत्ला बनाई दाहसंस्कार गर्ने चलन छ ।
कुनै अनुष्ठानमा सरिक भई काम गर्नुपर्दा शिखा बन्धन गर्न मिल्ने टुप्पी भएन भने दाहिने कानमा कुश झुन्डाई शिखाको काम लिने गरिन्छ ।दाह्रीकपाल खौरनुपर्ने काममा यसरी खौरन अनुकूल नभएको खण्डमा कुशको पात डुलाई (कुशले काटी) खौरने कार्य पुरा भएको मानिन्छ । कपास, लुगाकपडा त्यागेका योगी तपस्वीहरू कुशबाट नै जनै तथा अनन्त निर्माण गरी धारण गर्ने गरेको पाइन्छ । कुशलाई यज्ञादिमा प्रयोग मात्र होइन, कर्ता, आचार्य आदिले शुद्धता एवं रक्षणार्थ तथा बलशाली बन्न पनि कुशको पवित्र लगाउने, कुशको आसनमा बस्ने र कुशदण्ड लिएर मात्र सन्ध्यावन्दनदेखि लिएर सम्पूर्ण धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
देवकार्य होस् या पितृकार्यमा कुश मिश्रित जलले सेचन गर्ने र कुशद्वारा निर्मित पवित्र अर्थात् कुशको औँठी औँलामा लगाउने तथा कम्मरमा सिउरने धार्मिक विधि रहेको छ । हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा वेदका मन्त्र या श्लोकहरू पाठ गर्दा हाम्रो शरीरबाट एक प्रकारको ऊर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षित बनाउन र सकारात्मक ऊर्जा परिचालन गर्नका लागि कुशले एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ ।
यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि गर्यौँ भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित भई हामीले गरेको कार्यबाट अझै बढी सकारात्मक उर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ । ग्रहण लागेको बेला ग्रहणको दुस्प्रभाव अर्थात् सूतक नपरोस् भनी पक्वान्न, गोरस आदि खाने कुराहरूमा कुसको टुक्रा राखी संरक्षण गर्ने प्रचलन छ ।
आयुर्वेदमा
दैनिक आधा घण्टा कुशको आसनमा बस्दा उच्च तथा न्यून दुवैखाले रक्तचापको समस्या समाधान हुन्छ । कुशको जराको लेप बनाई लगाउनाले छालाको रोग निको हुनुका साथै काखी आदि शरीरका विभिन्न ठाउँबाट निस्किने दुर्गन्ध हराउँछ । कुशको जराको काँडा पकाई खानाले पित्तथैलीको पत्थरी पग्लिन्छ । कुशको जराको सेवनबाट पखाला, आउँ तथा रगतमासी निको हुन्छ ।
कुशको जराको सेवनबाट पायल्स निको हुन्छ । कुशको सेवनले रोग प्रतिरोधक क्षमता बढाउने, मुटुको चाल सन्तुलित राख्ने गर्दछ । कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा समस्याहरू रोकिन्छ । कुशको सेवनले अल्सर, मूत्ररोगमा फाइदा गर्छ ।
विज्ञानमा
कुशलाई विकिरणहरूको माझमा राख्दा कुशले विकिरणहरूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गर्छ भन्ने वैज्ञानिक मान्यता भएकाले वर्तमान समयमा प्रयोग हुने विभिन्न प्रकारका इलोक्ट्रोनिक वस्तु घडी, मोबाइल, कम्प्युटर लगायत विद्युतीय उपकरणहरूबाट निस्कने नकारात्मक विकिरणबाट बच्नका लागि कुशको प्रयोग महत्त्वपूर्ण हुन सक्छ । ग्रहणमा कुशको प्रयोग यसको उदाहरण हो ।
कुश भिजाएको जलमा अक्सिजनको घुलनशीलता वृद्धि हुने भएकाले पानीको शुद्धीकरणमा कुशको प्रयोग महत्त्वपूर्ण हुन सक्छ । भिजाएको कुशपानीमा सकारात्मक ऊर्जा प्रवाह बढी हुने भएकाले उक्त जल रक्तशुद्धीमा महत्त्वपूर्ण हुने मानिन्छ ।
प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १२ : ३५ बजे
प्रतिक्रिया