‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

काठमाडौँ ।  नेपाल निर्माण व्यवसायी महासंघले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‍सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

श्रमिकका लागि राज्यले एकद्वारा प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासंघले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । महासंघले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वारा प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासंघका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताउनुभयो । 

ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासंघसँगको सहकार्यमा तालिम दिइने बताउनुभयो । उहाँले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट प्रदान गरिने सीप तालिमलाई अन्तर्राष्ट्रियकरण बनाइने स्पष्ट पार्नुभयो । 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ४१ बजे