साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम सञ्चालन

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा आइतबारदेखि स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम सञ्चालन भएको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा जिम्मेवारी र कार्यक्षेत्रभित्रका ठाउँहरूमा सम्पादन गर्न सक्ने कार्ययोजना अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्कुल/कलेजमा अध्ययनरत पाँच सयजना विद्यार्थीहरूलाई तालिम दिई उनीहरूलाई प्रशिक्षक तथा स्वयंमसेवक तयार गर्ने योजनाका साथ तीनदिने तालिम सञ्चालन गरेको हो ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल र प्रगति पाठशाला कुरिनटारका प्रधानाध्यापक टंक त्रिपाठीले तालिम संयुक्त रूपमा समुद्घाटन गर्नुभयो ।

प्रगति पाठशाला चितवन कुरिनटारमा कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत ९३ जना छात्रछात्रा सहभागी भएका तालिम निकट भविष्यमा सशस्त्र प्रहरी बल नेपालका आठवटै बाहिनी मुख्यालयहरूमा समेत सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

भदौ १८ गतेसम्म सञ्चालन हुने तालिममा विपद्को परिचय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, मेडिकल फस्ट रेस्पोन्डर, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यु, पानीभित्र गरिने उद्धार प्रविधि, आगलागी, बाढी, पहिरो भूकम्प लगायतका विषयहरू समावेश गरी प्रशिक्षण गराइनेछ ।

तालिम शिक्षालयले स्थापना कालदेखि नै विभिन्न सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा नेपाल प्रहरी, निजामती सेवाका कर्मचारीहरू लगायत अन्य संघसंस्थाहरूलाई समेत विपद् व्यवस्थापन प्रतिकार्य तालिम तथा अभ्यासहरू गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : २४ बजे