‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु : डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधर

काठमाडौं । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताउनुभएको छ ।

आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले जारी गरेको कूटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको हो । प्रस्तावित राजदूत तुलाधरले युवाहरूको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवर्द्धनमा पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरूलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उहाँको भनाइ थियो ।

डेनमार्क लगायतमा मुलुकहरूमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रस्तावित राजदूत तुलाधरले बताउनु भयो । उहाँले देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताउनु भयो । 

प्रस्तावित राजदूत तुलाधरले भन्नुभयो, ‘युवाहरूको चाहनालाई मिट गर्ने खालको टुरिजम प्लानहरू पनि हामीले नेपाल टुरिजम बोर्डसँग मिलेर बनाउन सक्छौँ । नेपाल टुरिजम बोर्डले आफ्नो दूतहरू पनि नियुक्त गर्दो रहेछ । म उहाँहरूसँग एकदमै नजिक भएर काम गर्नेछु । देशको मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो ।’

प्रस्तावित राजदूत तुलाधरले विकसित देशहरूबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरूले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : २० बजे