‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुधार नहुने सामुदायिक विद्यालय मर्च गरिन्छ : महानगर प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार नहुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रूपमा कार्य गरिरहेको बताउँदै उहाँले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताउनुभएको छ । बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रूपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउनुभयो । गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरूको मुख्य भूमिका हुने उहाँको भनाइ थियो । ‘सबै सामुदायिक विद्यालयहरूको गुणस्तरमा सुधार हुनुपर्छ । पछिल्लो समय केही विद्यालयले राम्रो प्रगति गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर ४ मा पनि गोग्राहा र आधारभूत विद्यालय कञ्चनबारीले राम्रै प्रगति गरिरहेका छन् ।’

मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रूपान्तरण अभियान सुरु गरेको प्रस्ट पार्नुभयो । उहाँले वडाभित्र सञ्चालित चारवटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, राजनीतिक दलका अध्यक्षलगायतलाई राखेर अभियान सुरु गरिएको बताउनुभयो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तरबिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने प्रस्ट्याउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तरमा सुधार आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, शैक्षिक अभियन्ता अभिषेक घिमिरे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ५६ बजे