मङ्सिरले नछोएको इन्द्रावती : पोहोर परार खुसी भित्रन्थ्यो, यसपालि आँसु 

​​​​​​​मेलम्ची । अघिल्ला वर्षहरूको मङ्सिर महिनाको यतिबेला मेलम्ची आसपासका किसानहरूलाई धान थन्काउन भ्याई नभ्याई हुन्थ्यो । 

इन्द्रावतीको तिर,बगर र फाँट आसपासका धान खेतमा भ्याई नभ्याई काम गरिरहेको अवस्थामा भेटिने कृषकहरू यसपालि भने फुर्सदिला देखिन्छन् । 

मङ्सिर महिनामा यहाँ गाउँघरमाभन्दा पनि बगर र फाँटमा चहलपहल बाक्लो हुने गर्दथ्यो  । पाकेका धानका बालाले पहेलपुर देखिने यस क्षेत्र अहिले भने बगरसिवाय अरू केही नदेखिने अवस्थामा छ । 

सधैँ मङ्सिरमा खुसी उमङ्ग लिएर आउने इन्द्रावतीको रमाइलो यो मङ्सिरमा भने देखिएन ।  सधैँ मङ्सिरमा उत्साहित देखिने इन्द्रावती आसपासमा यो वर्ष भने जताततै निराशा र पीडाका आवाज मिश्रित आँसु मात्र देखिन्छ । विनाशकारी बाढीले उब्जाउयुक्त जमिन बगाएसँगै इन्द्रवतीबाशीको यो मङ्सिर त्यसै त्यसै खल्लो देखिन्छ । ‘अहिले वर्षभरिका लागि खाने अन्न थन्काउने समय हुन्थ्यो तर यो वर्ष बाढीले बगाएर बगर बनेको खेत हेरेर टोलाउनु बाहेक केही रहेन,’मेलम्ची १२ का किसानहरूको आवाज हो यो । 

अघिल्ला वर्षहरूमा यति बेला  मेलम्चीका किसानहरू असारमा रोपेको धान थन्काएर फाँटमा आलु रोप्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला जस्तै देखिन्छन् ।

असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिका इन्द्रावती गाउँपालिका आसपासका ५ हजार  रोपनी भन्दा बढी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई मङ्सिरको चटारो छैन ।

‘असारमा रोपेको धान हिजोआज भित्र्याउनमा व्यस्त हुने बेला हो यो । अहिले आफ्नो भएको खेत सबै बाढीले पुर्‍यो । खेतमा ढुङ्गा र बालुवा सिवाय केही छैन ।’ बाढीले पुरेको खेत हेरेर टोलाउनु बाहेक केही उपाय रहेन स्थानीय ४५ वर्षीय टंक प्रसाद आचार्यले सुस्केरा हाल्दै सुनाए। ‘आफू जन्मिएर ४५ वसन्त पार गरिरहँदा आजसम्म मङ्सिरमा चौतारोमा बसेर चुट्की मार्दै गफ गरेको थाहा थिएन ।’ उनले विगत सम्झँदै भने । 

‘एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुङ्गामुनि होला भनेर कसले पो सोचेको थियो र ! ’ दुःखी हुँदै आचार्यले भने ।  असार १ गते आएको बाढीले उनको १२ रोपनी खेत बगरमा परिणत गरेको सुनाए ।

आचार्यको भन्दा कत्ति फरक छैन इन्द्रावतीका मीन प्रसाद कट्टेलको पीडा पनि । मङ्सिरमा  समेत धान भित्र्याउन नपाइएला भनेर आफूले सपनामा समेत नसोचेको उनले बताए । “ यो बेला त धान झार्ने मेसिन कता छ, धान बिटा लगाउने मान्छे कहाँ पाइएला भनेर खोज्न व्यस्त रहिन्थ्यो, यो वर्ष चामल बेसाउन बाध्य भयौँ’, कट्टेलले भावुक हुँदै भने । 

‘न त खेत छ, न त घर, डेरामा बसिरहेका छौँ । अब खै कत्ति दिन यसरी चल्छ । नेताहरू हेलिकप्टरमा आएर आश्वासन दिएर गएको पनि महिनौँ भइसक्यो फर्केर कोही आएनन् ।’ उनले गुनासो गर्दै भने । 

‘आजसम्म त जसोतसो गुजारा चलेकै थियो अब कसरी चल्ने हो ।’ उनले भने । अब विदेश जाने सोच आएको उनले बताए । 

  व्यावसायिक रूपमा गाई पालनसमेत गर्ने गरेका कट्टेललाई यस वर्ष गाईलाई खुवाउने घुसान कसरी जुटाउने भन्ने चिन्ता चुलिएको बताउँछन् । ‘अघिल्ला वर्षहरुमा मंसिर खुसी लिएर आउथ्यो, यो वर्षको मङ्सिरमा आँसु पो भित्रियो ’उनले दुखेसो पोखे ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : १३ बजे