‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पुस्तकालय दिवसमा र्‍यान्डमद्वारा पुस्तक आदानप्रदान

पोखरा । पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस पोखरामा मनाएको छ । कार्यक्रममा ५० जना जतिले आपसमा पुस्तक साटासाट गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले आफू आजको ठाउँसम्म आउनुको मूल कारण पुस्तक र पुस्तकालय नै भएको अनुभव सुनाउनुभयो । कक्षा ५ मा पढ्दादेखि नै विद्यालयको पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययनले राजनीतिक तथा सामाजिक चेत भरेको बताउँदै उहाँले पुस्तकालय र पुस्तक नै आफ्नो वास्तविक गुरु भएको बताउनुभयो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्त्व र पठन संस्कृतिसम्बन्धी धारणा राख्दै भन्नुभयो, ‘जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तवमै समृद्ध हुन्छ ।’

ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने बताउँदै उहाँले स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय कुनै पनि व्यक्तिका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै पोखराको सार्वजनिक पुस्तकालयको हालको व्यवस्थापनले पोखरामा पुस्तकालय नै नभएको आभास दिएको त्रिवेणीले बताउनुभयो ।

हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान कार्यक्रम गर्ने गर्छ । सोही अवसरमा सोसाइटीको नियमित कार्यक्रमअन्तर्गत १०९ औँ शृंखलामा आगामी भदौ २९ गते शनिवार एक साहित्यिक पुस्तकको परिचर्चा हुने जानकारी सचिव नेपालप्रकाश अधिकारीले दिनुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ०२ बजे