साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भौतिकमन्त्री दाहालद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना अनुगमन

दमौली (तनहुँ)। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन गर्नुभएको छ । दाहालले शुक्रबार साँझ मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गर्नुभएको हो ।

मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।

मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगतिबारे मन्त्री दाहाललाई जानकारी गराउनुभएको छ । यो खण्डमा हालसम्म ६५ प्रतिशत प्रगति भएको पाण्डेले जानकारी गराउनुभयो । त्यस्तै दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको पुलमा ३० प्रतिशत प्रगति भएको उहाँको भनाइ थियो ।

यो खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको उहाँको भनाइ छ । पूर्वी खण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिनुभयो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म २० किलोमिटर दुई लेन सडक कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड०का इन्जिनियर नारायण पौडेलका अनुसार ११ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये आठ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको पौडेलले जानकारी दिनुभयो ।

विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति केही बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा योजना कार्यालयको पहलमा सरोकारवाला निकायहरुको साथ र सहयोगले सडक स्तरोन्नतिमा भौतिक प्रगति नौ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ ।

पश्चिम खण्डको म्याद विसं २०८१ भदौ १२ गतेसम्म छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ४९ बजे