‘नेशनल डे कन्सर्ट’ सम्पन्न

१७ देशका लागि प्रश्तावित राजदुतहरुमाथि परेका उजुरीहरुमाथि छलफल शुरु

काठमाडौं । सरकारद्वारा १७ देशका लागि प्रश्तावित राजदुतहरुमाथि परेका उजुरीहरुमाथिको छलफल शुरु भएको छ । शुक्रवार संसदीय सुनुवाई समितिमा १७ देशका लागि सरकारद्वारा प्रश्तावित राजदुतहरुमाथि उजुरीकर्ताहरुले गरेको उजुरीमाथि छलफल शुरु भएको हो । आजको बैठकमा ६ जना उजुरीकर्ताहरुले राजदुतउपर उजुरी दिनुभएको थियो । त्यसमध्ये ५ जना उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको हो । उजुरीकर्ताहरुमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल र एक जना उजुरीकर्ता नम्बर ६ रहनुभएको समिति सभापति ईश्वरीदेवी न्यौपानले बताउनु भयो । उहाँले एक जना उजुरीकर्ताले नाम गोप्य राख्न चाहनुभएकाले नखुलाइएको र अर्का एक जना उजुरीकर्ता कारणवश आउन नसक्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राजदुतहरुको सुनुवाई शुरु गरेको प्रक्रियाको दोस्रो दिन हो । आज उजुरीकर्ताहरुलाई बोलाएका थियौँ । ९ वटा उजुरी परेकोमा ६ जना आउने कुरा गर्नुभएको थियो । एक जनाको गोप्य थियो । १ जना कारणवश आउन सक्नुभएन । ५ जना उजुरीकर्ताहरु यहाँ आएर आफ्ना उजुरीहरुको सम्बन्धमा त्यसलाई पुष्टि गर्नुभएको छ । उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल, उजुरीकर्ता नम्बर ६ रहेको छ । उहाँले आफूलाई गोप्य राख्न अनुरोध गर्नुभएका कारणले समितिले उहाँको नामहरु गोप्य राखेको छ । अर्को बैठक १६ गते बस्नेछ ।’

समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदुतहरु वाणिज्य दुतमात्रै भएकाले र राजदुतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कुटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताउनु भयो । उहाँले राजदुत नियुक्ति समानुपातिक र समावेशी नभएकाले फिर्ता गर्नुपर्ने बताउनु भयो । सार्वजनिक सुनुवाई समितिले गम्भीरतापूर्वक सुनुवाई गरेर मात्रै राजदुत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिनुभयो । अर्का उजुरीकर्ता मुक्तिनाथ आचार्यले सिफारिस राजदुतमध्ये इजरायलका लागि सिफारिस व्यक्ति प्राध्यापक धनप्रसाद पण्डितमाथि समितिले गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ५४ बजे