साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भौतिक पूर्वाधार मन्त्रीद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण

धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ ।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने उद्देश्यले यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरीक्षण गर्नुभएको हो ।
मन्त्री दाहालसँगै नेकपा (एमाले) धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौंको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए । सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौँबाट पसेर धादिङपट्टि निस्कँदा गर्व महसुस भएको प्रतिक्रिया दिनुभएको छ । समयमै काम सक्न र चाँडै सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत आपत्कालीन सुरुङको लम्बाइ २ हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।
सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।
एक वर्षभित्र अर्थात् २०८२ सालको दसैँसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको कोइरालाले जानकारी दिनुभयो । २०७६ कात्तिक ४ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ०६ बजे