‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘शान्तिका लागि निःशस्त्रीकरण’ विषयमा कक्षा ११ र १२ का विद्यार्थीबीच कविता प्रतियोगिता

विराटनगर । विराटनगरमा सम्पन्न ‘शान्तिका लागि निःशस्त्रीकरण’ कविता प्रतियोगितामा मानसी पोखरेल प्रथम भएकी छन् ।
विश्व आणविक परीक्षणविरुद्धको दिवसका अवसरकम आयोजित कविता प्रतियोगितामा ८० जना विद्यार्थीले भाग लिएका थिए । संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि अगष्ट २९ तारिखलाई आणविक हतियारविरुद्ध दिवसका रूपमा मनाउन थालिएको हो ।

विश्वमा बढ्दै गएको आणविक हतियारको होडबाजीले मानव सभ्यतामाथि नै चुनौती थपिएको भन्दै विद्यार्थी र अभिभावकलाई यो दिवसको महत्त्व र उद्देश्यबारे जानकारी दिन प्रतियोगिता आयोजना गरिएको थियो । शिक्षादीप कलेजका २ हजार ५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको थियो ।

साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । मानसी कक्षा ११ विज्ञान संकायकी छात्रा छात्रा हुन् । प्रतियोगितामा इशान पौडेल, सिरिन भट्टराई र प्रतीक भट्टराई द्वितीय भए । सभ्यता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई र साम्राज्ञी बस्नेत तृतीय भए भने अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कविताका माध्यमबाट आफ्ना भावनाहरू पोख्न मिल्ने भएकाले पनि थकाहट हटाएर आनन्दपन ल्याउन पनि प्रतियोगिता आयोजना गरेको सुनाउनुभयो । ‘पहिलो चरणमा साहित्यिक कार्यक्रम गरेका छौं,’ उहाँले थप्नुभयो, ‘अब अन्य कार्यक्रम पनि क्रमैसँगै गर्दै जानेछौं ।’

प्रतियोगितमा विजेता विद्यार्थीहरूलाई अविर लगाएर नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ११ बजे