साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विश्वविद्यालय, स्टार्टअप र औद्योगिक विकास

अमेरिकाको हार्भर्ड विश्वविद्यालय प्रविधि विकास कार्यालयको ‘स्टार्टअप’ मार्गदर्शकका अनुसार लक्षित स्टार्टअपमा नवप्रवर्तन ठूला कम्पनी वा प्राज्ञिक प्रयोगशालामा भन्दा धेरै छिटो प्रगति हुन सक्छ । विश्वभर प्रतिष्ठित यस प्राज्ञिक प्रतिष्ठानको निष्कर्षबाट अमेरिकासहित समृद्ध मुलुकहरूले ‘स्टार्टअप’ र नवप्रवर्तनमा कति ध्यान पु¥याइरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ । अनि यसले कुनै पनि क्षेत्रको उन्नति र प्रगतिका निम्ति ‘रिसर्च एन्ड डेभलपमेन्ट’ को भूमिकालाई समेत स्पष्ट पार्दछ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका परिकल्पनाकार नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबाट गत हप्ता काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न ‘स्टार्टअप’ उद्यमको विकासमा निजी क्षेत्र र विकास साझेदारलाई आह्वान भयो । त्यसपछि पनि प्रधानमन्त्रीबाट यस विषयमा गम्भीरतापूर्वक सरोकार राखेर सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको पाइन्छ । त्यसैले औद्योगिक विकासका लागि महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘स्टार्टअप’ को अभियानले गति लिने र युवालगायत सबैलाई इलममा गर्न प्रेरित गर्ने अपेक्षा लिन सकिन्छ ।

अहिले संसारभर ‘स्टार्टअप’ असाध्यै ‘बज वर्ड’ वा चर्चा भइरहने शब्द भएको छ । उद्योगी तथा व्यवसायीहरू राज्यले स्टार्टअपमा लगानी वृद्धि गर्नुपर्ने भन्दछन् । राज्यका अंग तथा निकायका जिम्मेवार पदाधिकारी, सरकार प्रमुख तथा मन्त्रीहरू समेतले यसमा जोड दिनुपर्ने कुरा गरिरहेका हुन्छन् । मूलतः उच्च शिक्षा अध्ययनरत विद्यार्थी, युवा तथा प्राज्ञिक जनशक्ति, अर्थशास्त्रीले त यसबारे झनै बढी सशक्त ढंगले आवाज उठाउँदै आएका छन् ।

यसरी नेपालसहित आफ्नो उद्योग व्यवसायमार्फत मुलुकको अर्थतन्त्र सुदृढ तुल्याउन चाहनेहरूले ‘स्टार्टअप’ शब्दको व्यापक रूपमा प्रयोग गरेको पाइन्छ । यति मात्र होइन, आर्थिक समृद्धिमा फड्को मारेका विश्वका धनाढ्य मुलुकहरूले समेत यसको विकास तथा विस्तारका बारेमा थप अध्ययन–अनुसन्धान गर्दै ठूलो मात्रामा लगानी बढाउन प्रोत्साहित गरिरहेका हुन्छन् ।
‘स्टार्टअप’ को शाब्दिक अर्थ हुन्छ– सुरुआत । झट्ट पढ्दा र सुन्दा यो एउटा शब्दले केही थालनी गराँै भन्ने सन्देश दिन्छ । यस शब्दले बोकेका आयामहरू भने त्यति मात्र छैनन् । नवप्रवर्तन, लगानी वृद्धि, व्यवसाय प्रवर्द्धन, उद्योग विस्तार, आर्थिक विकासजस्ता विषयहरू यस शब्दले आत्मसात् गरेको छ । युवाहरूमा उद्यमशीलता विकासका निम्ति जोड दिनु पनि यसको उद्देश्य हो । साथै यसको मुख्य विशेषता भनेको उद्योग व्यवसायका क्षेत्रमा रहेको नवीनतम् सोच, अनुसन्धान, अन्वेषणकोे कार्यान्वयन गर्न सक्ने अवस्था नहुने वा कार्यान्वयन गर्न कठिन हुने हुँदा सरकार वा उद्यम व्यवसाय प्रवर्द्धन गर्न लागेका क्षेत्रबाट सुरुको लगानीदेखि परिपक्व नहुन्जेलसम्म सहायता वा सहुलियत दिनु हो ।

एउटा चिनियाँ उखान छ– हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । यस भनाइको भावझैँ ‘स्टार्टअप’ शब्दले दिने बहुआयामिक मार्गदर्शनलाई अपनाउनु र आर्थिक विकासको प्रक्रियालाई गति दिनु आजको आवश्यकता भएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित दक्षिण सान प्रान्सिस्को क्षेत्रको सिलिकन भ्याली ‘स्टार्टअप’ को स्वर्ग भनेर विश्वभर प्रसिद्ध छ । प्राविधिक नवप्रर्वतनको केन्द्रका रूपमा समेत यो विख्यात छ । एप्पल, गुगल, एचपी, इन्टेल, ईबेजस्ता सफ्टवेयर, इन्टरनेट र प्रविधि सम्बन्धी विशाल कम्पनीहरूका केन्द्रीय कार्यालयहरू यहीँ रहेका छन् । यो विश्वको सम्पन्न क्षेत्रमध्ये पर्दछ । अमेरिकाको ‘स्टार्टअप’ को एकतिहाइ हिस्सा यही सिलिकन भ्यालीले ओगटेको छ ।

सिलिकन भ्याली क्षेत्रमा विश्वविख्यात स्ट्यानफोर्ड विश्वविद्यालय छ । यस प्राज्ञिक केन्द्रका फ्रेड टर्मन पेसाले इन्जिनियर, शिक्षक, उद्यमी र व्यवस्थापक हुन् । उनी विद्यार्थी, इन्जिनियरिङ र विश्वविद्यालप्रति समर्पित व्यक्ति थिए । स्टेवार्ट गिलमोर सी. ले ‘फ्रेड टर्मन एट स्ट्यानफोर्ड ः बिल्डिङ ए डिसिप्लिन, ए युनिभर्सिटी एन्ड सिलिकन भ्याली (सन् २००४)’ पुस्तक लेखेका छन् । पुस्तकमा उनी भन्छन्– स्ट्यानफोर्ड विश्वविद्यालयको उपस्थिति अहिले सिलिकन भ्याली भनेर चिनिने टेक्नोलोजी उद्यमको विकासमा प्रमुख कारक थियो । सबैभन्दा बढी यो टर्मन, उनका विद्यार्थी र उनले तिनीहरूलाई दिएका प्रोत्साहन र अवसरहरू थिए, जसले यस महान् उद्यमलाई फस्टाउन सक्षम बनायो । कसरी विश्वविद्यालयले ‘स्टार्टअप’ लाई विकास र विस्तार गर्न भूमिका खेल्दछ यसबाट सजिलै बुझ्न सकिन्छ ।

नेपालमा ‘स्टार्टअप’ को अवधारणा आएको तथा यस कार्यक्रमको कार्यान्वयन भएको दृष्टिले यो सुरुवाती चरणमै छ । यद्यपि विकसित मुलुकमा यसको चर्चा विगत ३० वर्षदेखि हुँदै आएको पाइन्छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभाग अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०७७ सालदेखि स्टार्टअप कार्यक्रम लागू गर्न थालेको छ ।
निजी क्षेत्रका व्यावसायीहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ५० ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्न ५० उद्यमीबाट लगानी जुटाउने निर्णय गरेको छ । महासंघको नवगठित ‘स्टार्टअप एन्ड इनोभेसन कमिटी (एसआईसी)’ ले लगानीका लागि उत्कृष्ट ५० ‘स्टार्टअप’ छनोट गर्ने जानकारी गराएको थियो । नेपालमा ‘स्टार्टअप’ कार्यक्रमका लागि एक दशक पहिलेदेखि नै बजेट विनियोजन गर्न सुरु गरेको देखिन्छ तर ‘स्टार्टअप’ को कानुनी परिभाषा गर्न ढिलाइ भएकाले यो कार्यक्रम पछि परेको पाइन्छ ।

नेपाललाई उच्च–मध्यम आय भएको देशमा रूपान्तरण गर्ने लक्ष्यका साथ गत वर्ष दुईदिने सम्मेलन सम्पन्न भएको छ । २१ औँ शताब्दीमा नेपाललाई हरियाली, लचिलो र समृद्ध राष्ट्रका रूपमा विकास गर्ने र सन् २०३० सम्ममा दक्षिण एसियाकै सबैभन्दा ‘स्टार्टअप’ मैत्री राष्ट्र बन्ने लक्ष्यका साथ ‘स्टार्टअप नेसन सम्मेलन २०३०’ २८ र २९ अगस्ट २०२३ काठमाडौँमा आयोजना गरियो । यस अवधिको अन्त्यसम्ममा १० हजार स्टार्टअपहरू र एक लाख नयाँ गुणस्तरीय रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्घोष गरिएको छ । यस सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्न एफएनसीसीआईको पहलमा १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भएको छ ।’ सम्मेलनको आयोजनामा विश्वविद्यालय अनुदान आयोग नेपाल (युजीसी) को समेत संलग्नता हुनु खुसीको विषय हो । यसैगरी ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्न त्रिभुवन विश्वविद्यालय र जागरुक युवाहरूको कम्पनी आइडिया स्टुडियो नेपालबीच समझदारी भएको पाइन्छ । मुलुकका सबै विश्वविद्यालयहरूले थप प्रभावकारी रूपमा ‘स्टार्टअप’ कार्यक्रमलाई विस्तार गर्न ध्यान दिनुपर्दछ ।

नेपाल सरकारले ‘स्टार्टअप’ उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ ल्याएको छ । यस कार्यविधिको उद्देश्य नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउनु हो । कार्यविधिले प्राथमिकताको पहिलो क्रममा कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यमलाई समावेश गरेको छ भने अन्तिममा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यमलाई ‘स्टार्टअप’ उद्यमसहित १९ वटा क्षेत्र निर्धारण गरेको छ । यसरी व्यापक रूपमा ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने नीति अख्तियार गर्नु सराहनीय कार्य हो ।
अर्थतन्त्रलाई माथि लैजाने उच्च संकल्पका साथ अग्रसर हाम्रो छिमेकी देश भारतका विश्वविद्यालयहरूले ‘स्टार्टअप’ कार्यक्रमलाई प्रोत्साहित गरिरहेका छन् । भारतकै औद्योगिक विकास र आर्थिक गतिविधिको एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको महाराष्ट्र राज्यमा पर्ने मुम्बईको सेरोफेरोमा रहेको प्रसिद्ध विश्वविद्यालय सावित्रीभाइ फूले पुने विश्वविद्यालय रिसर्च पार्क फाउन्डेसनले ‘स्टार्टअप इन्डिया स्किम’ अन्तर्गत करिब दुई वर्ष अगाडि नै केन्द्रीय सरकारबाट बजेट प्राप्त गरेर ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हाम्रो उत्तरको छिमेकी चीन अमेरिकापछि विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकमा त्यत्तिकै उक्लिएको होइन । ‘रिसर्च एन्ड डेभलपमेन्ट’ मा प्रशस्त लगानी गर्दै ‘स्टार्टअप’, नवप्रवर्तन र उद्यमशीलता अभिवृद्धिमा लागेर नै हो । त्यहाँका प्राज्ञिक प्रतिष्ठानहरू यस दिशामा अलि पहिलेदेखि नै लागेका छन् ।

चीनको हार्भर्ड भनेर प्रख्यात विश्वविद्यालय सिङ्हुआले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफ्ना प्रमुख पूर्वछात्रका रूपमा लिन्छ । सिङ्हुआ युनिभर्सिटी साइन्स पार्क (टस्पार्क–होल्डिङ लिमिटेड) ले ४५ देश र क्षेत्रहरूमा व्यापार पार्कहरू निर्माण गरी उद्यमशीलता विकासका निम्ति सेवाहरू सञ्चालन गर्दछ । टस्पार्कमा करिब चार सय कम्पनी र २५ हजार कर्मचारी कार्यरत छन् ।

हाम्रो देशले राष्ट्रिय पुँजीको विकास गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ मुलुकका रूपमा आफूलाई उभ्याउनुपर्दछ । सबैले राम्रोसँग खान, लाउन, औषधोपचार पाउन र समग्रमा गुणस्तरीय जीवन जीउन सक्ने बनाउनैपर्दछ । रोजगारीका लागि युवा तथा शिक्षित जनशक्ति विदेश जाने प्रवृत्तिलाई रोकेर स्वदेशमै उद्योग व्यवसायको विकास गर्न व्यापक मात्रामा ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । विभिन्न क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाएर विदेशमा समेत त्यसलाई विक्री वितरण गर्न सक्ने अवस्था निर्माण गर्न अर्जुनदृष्टि लगाउनैपर्दछ ।

प्रारम्भिक तहमै सही ‘स्टार्टअप’ को विकासका लागि यहाँ जारी भएका नीति, आएका कानुन र तोकिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न अब ढिला गर्नु हुँदैन । अहिले नेपालमा दुई दर्जनभन्दा बढी विश्वविद्यालयहरू छन् तर तिनले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन् । अब विश्वविद्यालयहरूलाई प्राज्ञिक गतिविधिको उच्च र पवित्र थलोको रूपमा अभिवृद्धि गरी तिनीहरूलाई सरकारी, निजी, सामुदायिक, सहकारी क्षेत्रसँग बलियो समन्वय गर्न प्रोत्साहित गरेर ‘स्टार्टअप’ कार्यक्रम फैलाउनुपर्दछ । काम गर्दै जाँदा उत्पन्न भएका कमीकमजोरीलाई आफ्नै अनुभव र विदेशका विश्वविद्यालयका अभ्यासका असल पक्षलाई अनुसरण गर्दै ‘स्टार्टअप’ लाई प्रभावकारी तुल्याउनैपर्दछ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १ : १५ बजे