साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको सुझाव

सुशासनका लागि कर्मचारी प्रशासन चुस्त राख्नुपर्नेमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त हुनुभएका मुख्य सचिव एकनारायण अर्याललाई बधाईसहितको निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नव नियुक्त मुख्य सचिव आर्याललाई बधाई दिनुहुँदै प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्नेमा जाेड दिनु भएकाे छ । प्रधानमन्त्री ओलीले नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न सरकारले नीतिगत नेतृत्व गर्ने र यसको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभएको छ । निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याइनुहुँदै प्रधानमन्त्री ओलीले सरकारले आवधिक भूमिका निर्वाह मात्र गर्ने बताउनुभएको छ ।

उहाँले हरेक सरकारी निकायका अधिकारीहरूलाई आफ्नो कामप्रति जबाफदेही बनाउन तथा जनगुनासो तत्काल समाधान गर्न सार्वजनिक सुनुवाइको व्यवस्था गर्न सामाजिक सञ्जालमा पेज बनाउनु उपयुक्त हुने सुझावसमेत दिनुभएको छ । ओलीले विशेष गरी सवारी चालक अनुमति पत्र, अस्पताल सेवाहरू, नागरिकता र पासपोर्ट जस्ता सेवामा सेवाग्राहीहरूले लामो लाइन बस्न नपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । विकास निर्माणका आयोजनाहरूमा हुने ढिलाइलाई तत्काल सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिनुभएको छ ।

प्रधानमन्त्रीले करिब चार लाख राष्ट्र सेवक कर्मचारीको कार्यसम्पादनमा सुधार आएको खण्डमा नागरिकमा सन्तुष्टि आउने, कामहरू अघि बढ्ने र देश सफल हुने विश्वास व्यक्त गर्नुहुँदै मुख्य सचिव अर्याललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

हेर्नुहोस् प्रधानमन्त्रीको फेसबुक स्ट्याटस :
नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई। नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्छ। सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो। हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ । सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् ,‘यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ। हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक ,सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन् । राष्ट्रसेवकका लागि सफलता मिलोस्, शुभकामना !

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ५१ बजे