साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माओवादी कार्यकर्ताको घरमा विस्फोट : २ बालबालिकाको मृत्यु, १ घाइते

पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका-५ प्राङबुङको डाँडागाउँमा बिहीबार एक माओवादी कार्यकर्ताको घरमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । घटनामा एक बालक घाइते भएका छन् ।

विस्फोटमा माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी)को घरमा बस्दै आउनुभएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ बजे बीएन्डसी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथर जिल्ला अस्पतालकाअनुसार दिप्सनको शरीर ९० प्रतिशत जलेको थियो । उनलाई थप उपचारका लागि झापाको बीएन्डसी मेडिकल कलेज लगिएको थियो ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीकाअनुसार विस्फोट भएको वस्तु घरेलु ग्रिनेड रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोट भएको घरनजिकै अर्को एउटा शंकास्पद वस्तुसमेत भेटिएको छ ।

स्थानीयहरूले बम द्वन्द्वकालमा माओवादीले लुकाएर राखेको हुनसक्ने आशंका गरेका छन् ।

प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको छ । भेटिएको अर्को शंकास्पद वस्तुलाई रातभर घेराबन्दी गरेर राखिएको र शुक्रबार नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि थप अनुसन्धान थालिने डीएसपी भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ३६ बजे