साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भारतले धौलीगंगा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

बैतडी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रकम बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ८ : २५ बजे