कांग्रेस सभापतिमा कसैको बहुमत पुगेन, पुनः मतदान गराइने

काठमाडौँ — नेपाली कांग्रेस सभापतिको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ। 

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ बीचमा भएको प्रतिस्पर्धामा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत, डा. शेखर कोइरालाले १७२९ मत , प्रकाशमानसिंहले ३७१ मत , विमलेन्द्र निधिले २४९ मत  र कल्याण गुरुङले २० मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचनमा यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था गरिएको छ । पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने भएकाे छ ।

त्यस्तै निर्वाचन समितिले अर्को मतपत्र तयार गरेर तुरुन्तै दोश्रो चरणको  मतदान प्रक्रिया अघि बढाउन लागिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : १२ बजे