साफ यू–१७ च्याम्पियनसिप आजदेखि

२२ अर्ब विद्युत् बक्यौता रकम नउठाउनेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ : सांसद बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाउनेहरूप्रति छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताउनुभएको हो । उहाँले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताउनुभयो । उहाँले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणको नेतृत्वमा सात वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरू पनि हेर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परीक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिँदैन । उठाउन खोजेनन् माफियाहरूको संरक्षण गर्न खोजे भनेर भन्ने प्रतिपक्षी दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउनु पर्दैन भन्नुभयो ।

त्यसो भए हामीले सोध्नुप-यो, माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ ? किन रहेछ ? अब हामी सोध्छौँ । लेखा समितिले पुग्दैन भने संसद्‍बाट एउटा शक्तिशाली छानबिन समिति गठन गरियोस् । किन २२ अर्ब रुपैयाँ उठेन ? कसका कारणले उठेन ? कसले पत्र लेखेर रोक्यो ? त्यो चिज त चाहियो । सात वर्षदेखि एउटै मान्छेले नेतृत्व गरेको छ । अरू पनि हेर्नु छ त्यसभित्र । लेखा समितिले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन भने छानबिन समिति बनाउनुपर्छ । यो अहिले बनेको सरकार यो भन्दा गतिलो संख्या पुग्दैन । यो संख्याप्रति जनताको आशा छ, विश्वास छ । यो समीकरणप्रति जवाफदेहिता पनि छ । प्रचण्डजीले अर्को पनि भन्नुभयो, ‘उहाँले धम्किपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो । म कहाँ नआऊ है भनेर । कोही पनि आउनेवाला छैन । भ्रममा नपर्नु । एक्लै लड्नु । भनेकै त्यही हो ।’

सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताउनुभयो । उहाँले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गर्नुभयो । 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ४ : ०३ बजे