साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रमाण भएर नै रवि लामिछानेले नौ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौ घण्टासम्म बयान दिनुपरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उहाँले प्रमाण भएर नै संसद्‍मा संघर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले नौ घण्टासम्म बयान दिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘केही दिनदेखि संसद्‍मा केही साथीहरूले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरू भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसद्‍मा संघर्ष गरेर समिति बनाइयो ।’

थापाले समितिमा आफूहरूले प्रमाण दिएको उल्लेख गर्दै टीओआरमा कम्पनीको नाम लेख्न लगाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा पुगेनन् होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ?अनि यसमा ख्याल गर्नुभएन ? नौ मिनेटमा चट भनेको ठाउँमा नौ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला ?’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भननुयो, ‘बरु, साथीहरू झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : ३७ बजे