नौ सूत्रीय माग अघि सार्दै चुरे अभियानद्वारा पुनः आन्दोलनको घोषणा

जनकपुरधाम – चुरे तथा  वन जंगल संरक्षण अभियानले विभिन्न नौ सूत्रीय मागलाई अघि सार्दै पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

अभियानका संयोजक सुनिल कुमार यादवले  सोमबार पत्रकार सम्मेलन गर्दै विगतमा प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयसहितका नौ सूत्रीय माग सार्दै अगामी पुस ५ गते आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

विगतमा प्रदेश २ सरकारले चुरे तथा वन जंगल संरक्षण अभियानसँग गरेको सम्झौता अनुसार गरेको छानिबिन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, स्थानीय सकारद्वारा भूदलित सुकुम्वासीलाई उठिवास लगाउने कार्य बन्द गरी भूमिहीन सुकुम्वासीलाई जोत भोगको अधारमा उक्त जग्गाको लालपुर्जा तथा नि:शुल्क स्वास्थ्य शिक्षा सहितका सेवा सुविधा दिनुपर्ने माग राखेको थियो ।

यस्तै सुकुम्वासीको आयोगले मालपोत कार्यालय र गुठी संस्थानको आर्थिक प्रलोभनमा नक्कली सुकुम्वासी भूमाफियालाई जग्गाको लालपुर्जा छानबिन गरी बदर गर्नुपर्ने, महोत्तरीको भंगहा नगरपालिका–४ थारु टोलमा बसोवास गर्ने सुकुम्वासीहरूलाई जोतभोगको अधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग छन् । 

संयोजक यादवले ५ गते प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने, पुस ६ गते  सप्तरीको रुपनी बजार, सिराहाको लहान, महोत्तरीको बर्दिबास, रनैतहटको चन्द्रनिगाहपुर र बाराको सिमरामा विरोध सभा गर्ने, पुस ७ गते प्रदेश सरकारलाई घेराउ गर्ने कार्यक्रम रहेको बताए । आफूहरूको माग पूरा नभए फेरी अर्को चरणको आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ३१ बजे