साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीकाे पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’कार्यक्रममा प्रस्तुत प्रकाश तामाङको कथा हेरेपछि उहाँको समस्या समाधानका लागि तत्काल पहल थाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटसअनुसार उहाँले कार्यक्रमकी प्रस्तोता विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क गरी समस्याबारे जानकारी लिनुभएको हो ।

तामाङको तत्काल आवश्यकता नागरिकता रहेको बुझेपछि प्रधानमन्त्रीले गएराति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गर्नुभएको थियो । गृहसचिवले दुई/चार दिनभित्रै तामाङलाई नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले यो जानकारी तामाङलाई पठाइसकेको र नागरिकता प्राप्त गरिसकेपछि थप आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको उल्लेख गर्नुभएको छ । नागरिकता प्राप्त गरेपछि तामाङले बैंक खाता खोल्न सक्ने र अन्य व्यक्तिहरूले पनि उहाँलाई सहयोग गर्न सक्ने अवस्था सिर्जना हुने प्रधानमन्त्री ओलीको विश्वास छ ।

‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : ४० बजे