साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवापुस्तालाई पलायन हुनबाट रोक्नु पर्ने विचार व्यक्त गर्नुभएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रिपति भण्डारीले युवाहरूलाई स्वरोजगार बनाएर विदेश जानबाट रोक्न सकिने भन्दै यसतर्फ ध्यान दिनुपर्ने महत्वपूर्ण धारणा राख्नुभयो । पछिल्लो समय नेपालमा युवा पुस्ताहरू विदेशिने क्रम बढेको सन्दर्भमा उहाँले स्वरोजगार बढाएर युवाको विदेश पलायनको दर रोक्न सकिने मत अघि सार्नुभएको हो ।

मुलुकमा युवाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागि समेत अपरीहार्य रहेको उहाँले बताउनुभयो । स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत युवा पुस्तालाई जोड्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । पूर्वराष्ट्रपति भण्डारी सहभागी भएको कार्यक्रममा महिलासहित युवापुस्ताको उल्लेख्य सहभागिता रह्यो ।

यसमा हर्षित हुँदै उहाँले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले समेत ठूलो शिक्षाको रूपमा लिएको बताउनुभयो । पुरातात्विक महत्त्व बोकेका सम्पदाहरु संरक्षणमा स्थानीयको सहभागिताले हर्षित हुनुभएका उहाँले आफूलाई पनि यस्तै संरक्षणको काममा चासो राख्न उत्साह थपेको भन्दै स्थानीयको प्रयासको सराहना गर्नुभयो ।

नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेकोमा समेत उहाँले सन्तोष जनाउनुभयो । कार्यक्रममा उहाँले जनप्रतिनिधिहरूलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिनुभयो । पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने भन्दै यस विषयमा गम्भीर हुनुपर्नेमा उहाँको भनाइ छ ।

पछिल्लो समय काठमाडौँको चक्रपथ बाहिरी क्षेत्रमा भौतिक पूर्वाधारमा ठूलो सफलता मिलेको छ । व्यवस्थित बस्ती देखि लिएर नागरिकको सुविधा अनुसार ती क्षेत्रहरू बसोबास योग्य भइरहेका छन् । पूर्वराष्ट्रपति भण्डारीले अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको मोडल अगाडि बढाउने समय आएको उल्लेख गर्नुभयो । ‘भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जनप्रतिनिधिहरुलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न सुझाव दिन चाहन्छु ।‘

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या जटिल बन्दै गएकाले खानेपानीका स्रोतहरुको संरक्षण गर्नु पर्ने महत्त्वपूर्ण विषय उठान गर्दै उहाँले यसका लागि स्थानीय सहभागिताको महत्व रहेको तथ्यमा जोड दिनुभयो । उहाँले खानेपानी स्रोतको पुनर्भरण गरी हिउँदमा पानीको अभाव टार्न सकिने भन्दै काठमाडौँमा देखिँदै आएको खानेपानीको समस्याको दीर्घकालीन समाधानको लागि काम गर्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।

जलवायु परिवर्तनका कारण विश्वमा नै तापक्रम बढिरहेको हुँदा पानीका मुहानहरु सुक्दै गएको र यसले जनजीवनमा पारेको असरबारे गम्भीर समीक्षा गर्दै उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असरको प्रभाव घर गृहस्थी बढी हेर्ने महिलाहरुलाई झन् धेरै परेको छ । त्यसैले हामीले यसबारेमा समय छँदै सोच्नुपर्छ ।’ महत्त्वपूर्ण विषयहरूमा आफ्ना विचार राखिरहँदा पूर्वराष्ट्रपति भण्डारी बूढानीलकण्ठ क्षेत्रको जनप्रतिनिधि रहेको समेत स्मरण गर्नुभयो । जनताले अमूल्य मत दिएर पठाउँदा आफूले कर्तव्य निर्वाहमा कुनै कसर बाँकी नराखेको उहाँले स्मरण गर्नुभयो ।

‘तपाईंहरुले अमूल्य मत दिएर देशको सेवा गर्न पठाउनुभयो, त्यसैअनुसार मैले पनि कर्तव्य निर्वाह गरेँ,’ भावुक शैलीमा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘त्यसमा तपाईंहरूको ठूलो देन छ ।’ आफू बूढानीलकण्ठमै बस्ने गरेकाले यस क्षेत्रका जनता आफ्नो छिमेकी रहेको भन्दै स्थानीयका लागि आफ्नो घरको ढोका सदैव खुला रहेको सन्देश समेत उहाँले दिनुभयो । पहिले म अलि टाढा थिएँ होला, काठमाडौँ महानगरपालिकामा बस्थेँ । अहिले भने एउटै नगरवासी भएका छौँ । यसको अर्थ म अब छिमेकी भएँ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले मलाई समय मिलाएर जुनैसुकै बेला भेट्न सक्नुहुनेछ ।’

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ४१ बजे