साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘सबैभन्दा बलियो दलले शासन गर्ने लोकतन्त्रको मूल मान्यता’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रस्ट पार्नुभयो । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो,’ उहाँले भन्नुभयो ।

कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने उहाँको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकको पोखरेलले टिप्पणी गर्नुभयो । ‘कतिपय कानुनमा सुधार गर्दा पनि स्थायित्वको आधार बलियो बनाउन सकिन्छ,’ पोखरेलले भन्नुभयो ।

कानुनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलियो हुनबाट रोकेको उहाँले बताउनुभयो । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको संख्या स्वतः कम हुने स्थिति बन्ने पोखरेलको धारणा छ ।

त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने उहाँको भनाइ छ । ‘साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको छ,’ उहाँले भन्नुभयो ।

जनताको बहुमत प्राप्त नयाँ राजनीतिक दल रातारात जन्मिने परिस्थिति नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बीचमा नागरिकको लोकतन्त्र प्रतिको भरोसा जोगाएर राख्न नसकिने पोखरेलले बताउनुभयो । त्यसैले मुलुकलाई बर्बाद हुनबाट जोगाउन ठुला राजनीतिक दलले पहल लिनुपरेको उहाँको भनाइ छ ।

पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निकै जटिल बन्दै गएको बताउँदै सचेततापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो । दक्षिण एसिया राजनीति द्वन्द्वको चपेटामा परेको उहाँको धारणा छ । व्यक्तिगत पुँजीवादको टकराव कति बलियो हुन्छ भन्ने कुरा श्रीलंकाबाट सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकरावले श्रीलंकामा द्वन्द्व निम्त्याएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले पनि समाज अराजक बन्ने पोखरेलले बताउनुभयो । त्यो अराजकताले देश नै बर्बाद बनाउन सक्ने उहाँको धारणा छ ।

आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बंगलादेशबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक र भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्त्वपूर्ण रहेछ भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताउनुभयो । यसमा सञ्चार माध्यमको सकारात्मक भूमिका छ कि छैन भन्ने कुराले अर्थ राख्ने पोखरेलको धारणा छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : १८ बजे