सुनको मूल्यमा नयाँ कीर्तिमान

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु

रियाद  । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिवारदेखि निरन्तर रूपमा कारबाही जारी राखेको छ ।

सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरू मारिएका बताइएको छ । शनिवारदेखि यहाँको मारिब प्रान्तमा सायदी सेनाले निरन्तर रूपमा कारबाही जारी राखेको बताइएको छ ।

उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरूको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले शनिवार जनाएको थियो । तर आइतबार यसमा वृद्धि भएको छ । सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरू कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टि गरेको जानकारी दिएका छन् ।

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । 

मारिब क्षेत्रमा ठुलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिवारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिवारदेखि कम्तीमा पनि ३६ ओटा साना ठुला आक्रमणहरू गरेको पाइएको छ ।

शनिवारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरूका कम्तीमा पनि २१ ओटा आश्रय स्थल र केही सवारी साधनहरू ध्वस्त पारिदिएको बताइएको छ  ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ०६ बजे