काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । 

काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । 

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केही बेरअघि मात्रै मतदान सुरु भएको हो । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । 

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजरको व्यवस्था गरिएको छ । मतदान स्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ । प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । 

भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सह महामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाइलगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । 

महाधिवेशन स्थलको राष्ट्रियसभा गृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । 

यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रियसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

एकै पटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ५१ बजे