समृद्धिका लागि अवसरहरू 

नेपाल एक भूपरिवेष्टित देश भए पनि यो भौगोलिक तथा सांस्कृतिक विविधताले धनी छ । त्यसैले यहाँ बसोबास गर्ने समुदायका लागि प्रकृतिको अपार आशीर्वादका रूपमा प्राप्त हिमाल, उच्च पहाड, चुरे र समथर तराई जस्ता विविध भू–बनोट गौरवका विषय हुन् । 

यहाँ जसरी विविध भू–बनोट छ त्यसरी नै मानवीय विविधता पनि छ, जससँग धेरै वेशभूषा, भाषा, धर्म, सांस्कृतिक परम्परा र ज्ञान, सीप  उपलब्ध छन् । समुद्र सतहदेखि  ६० मिटरको उचाइबाट सुरु भएर विश्वकै सर्वोच्च शिखर सगरमाथा अर्थात् ८८४८ मिटरको उँचाइसम्म फैलिएको हुँदा यहाँ  धेरै जैविक विविधता पाइन्छ । 

यहाँ उष्णप्रदेशीय वनस्पति देखि टुन्ड्रा प्रदेशीय वनस्पति र जीवजन्तुहरूको उपलब्धता छ । यहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका उच्च हिमाल मध्ये आठ वटा अग्ला हिमालयहरूले चाँदी जस्तै उच्च शिर झल्काइरहेका मात्र छैनन्, विश्वका पर्यटकहरूलाई मनमोहक दृश्यबाट आकर्षित गरी बर्सेनि लाखौँको राजश्व राज्यलाई उपलब्ध गराएका छन् ।

यिनै हिमशृङ्खलाबाट उत्पन्न कर्णाली, गण्डकी र कोशी नदी यहाँ सुसाइरहेका मात्र छैनन्, यहाँको उर्वर जमिनलाई सिञ्चित गर्न, विद्युत् उत्पादन गर्न तथा पर्यटकीय उद्योगको सम्भावना दिन सदा तत्पर छन् । 

उच्च हिमाली क्षेत्रमा रहेका  बहुमूल्य औषधिजन्य जडीबुटी तथा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरूले यहाँका बासिन्दाहरूलाई  मात्र हैन, उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्न चाहने जो कोहीका लागि पनि अनन्त अवसरहरू दिइरहेका छन् । 

उच्च पहाडी क्षेत्रका चरन क्षेत्रहरूले पशुपालन तथा दुग्ध व्यवसायबाट दूध तथा दुग्धजन्य वस्तु उत्पादन गर्न विभिन्न प्रजातिका घाँसहरू उपलब्ध गराइराखेका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका गाई वस्तुहरूको राम्रो व्यवस्थापन गरी दूध र दुग्धजन्य पदार्थ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने र छिमेकी राष्ट्रहरूमा पनि यसबाट बन्ने परिकारहरू निर्यात गर्न सक्ने ठुलो सम्भावना छ । 

यति मात्र होइन, यस क्षेत्रमा कृषि उत्पादनका परम्परागत विधिलाई परिमार्जन गरी यहाँ पाइने स्याउ, नास्पाती, जुनार लगायत रसजन्य वनस्पति जस्तै डाले चुक  जस्ता प्रजातिलाई उच्च प्राथमिकता दिई प्रशोधित बस्तु उत्पादन गर्न सके यसबाट धेरै आम्दानी गर्न सकिन्छ । 

मध्य पहाडी क्षेत्रमा उत्तम प्रजातिका डाले घाँसहरू प्रचुर मात्रामा पाइने हुनाले त्यहाँ पशु व्यवसाय सञ्चालन गरी प्रशस्त फाइदा लिन सकिन्छ । यसका साथसाथै जैविक मल प्रयोग गरी स्वास्थ्यकर खाद्यान्न जस्तै फापर, कोदो, जौ, गहुँ ,मकै र धान लगायतका अन्न र अन्य नगदे बालीबाट वर्तमान अवस्थामा आफ्नो देशमा रहेको जनसङ्ख्यालाई स्वास्थ्यकर खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नुका साथै विदेशमा पनि निर्यात गर्न सकिने प्रचुर सम्भावना छ । 

यस क्षेत्रमा फलफूल व्यवसायका साथै माहुरी पालन, माछा पालन, च्याउ खेती, कुखुरा पालन, परेवा पालन तथा तरकारी र नगदे बाली उत्पादनको लागी राम्रो हावापानी रहेको छ । तेज पात  र टिमुर  का साथै यहाँ अदुवा, अलैँची, अम्रिसो, आलु, अकबरे खुर्सानी  कफी र चिया जस्ता नगदे बालीबाट प्रशस्त आयआर्जन गर्न सकिन्छ । 

मध्य पहाडी क्षेत्र र तराईमा पाइने विविध किसिमका बाँस प्रजातिलाई सदुपयोग गरी उद्यमशीलताको विकास गर्न सकेमा यसबाट उत्पादित हस्तकला, घरायसी सामानबाट आत्मनिर्भर मात्र होइन बाहिरी देशहरूमा पनि निर्यात गर्न सकिने राम्रो सम्भावना छ । यसो गर्दा ठुलो लगानी गर्नु पर्दैन र परम्परागत ज्ञान र सीपको पनि संरक्षण हुन्छ । हामीसँग अहिले भएको सीपमा केही अरू सीपको तालिम दिने हो भने हामीले बजारको मागलाई सजिलै वृद्धि गर्न सक्ने अवस्था छ । 

यहाँका  सबै क्षेत्रहरूमा मौसम अनुसारका थरथरीका फूलहरू उत्पादन गर्न सकिने हुँदा पुष्प व्यवसायको पनि राम्रो अवसर छ । पुष्प व्यवसायको लागि नेपालको हावापानी र माटो उपयुक्त भएको र यसको माग स्वदेश तथा विदेशमा  समेत भएको हुँदा निर्यात गर्न  सकिने सम्भावना प्रचुर छ । यसबाट ठुलो सङ्ख्यालाई रोजगारी सिर्जना गर्न सकिने देखिन्छ । 

यहाँको मानवीय विविधता अनुसार धर्म, संस्कृति, रीतिरिवाज र परम्परामा पनि फूलको प्रयोग धेरै भएको देखिन्छ । सभा सेमिनार देखि होटलहरु र पार्टी प्यालेसहरूमा प्रयोग हुने आवश्यक फूलहरूको लागि पनि हामी आत्मनिर्भर छैनौ। आफ्नो देशका लागि  चाहिने मात्र उत्पादन गर्न सके पनि विदेशबाट आयात कम गर्न पाए हामी समृद्धिको बाटोतर्फ लाग्न सक्दछौँ । यसबाट स्थानीय स्तरमा पुष्प व्यवसाय प्रति पनि ढुक्क हुने वातावरण बन्न सक्दछ । 

तराईका समथर भूभागमा  देशको जनसङ्ख्यालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने उर्वरा शक्ति रहेको छ । त्यहाँको जमिनमा सिँचाइको व्यवस्था गर्न सकेमा धान, गहुँ, मकै, उखु र कपास मात्र होइन, उष्णप्रदेशीय फलफूलहरू जस्तै आँप, लिची, केरा, अम्बा, मेवा तथा  सरिफा उत्पादनको राम्रो  सम्भावना छ । बहुमूल्य औषधिजन्य जडीबुटीले  भरिपूर्ण  यो क्षेत्र सुगन्धित तेल निकाल्न मिल्ने वनस्पतिहरू जस्तै मेन्था, लेमनग्रासका साथै रस उत्पादनका लागि बेलजस्तै धेरै मूल्यवान् वनस्पतिहरूबाट भरिपूर्ण छ । 

यहाँका प्राकृतिक स्रोत र साधनको दिगो व्यवस्थापन गरी संरक्षण, सदुपयोग गर्न सकेमा देशवासीका लागि मात्र नभई विश्वका जनसमुदायका निम्ति पनि लाभदायक उपभोग्य वस्तुहरू बनाउन सकिने प्रचुर सम्भावना छ । 

सभ्य, भव्य र स्वतन्त्र समाजको स्थापना गर्न परिवर्तनको आवश्यकता पर्दछ, परिवर्तन आफैले सुरु गर्नुपर्दछ जुन सादा जीवन, उच्च विचार र परिश्रमबाट मात्र सम्भव छ। पुर्खाले कृषि सभ्यतालाई स्वाभिमानका साथ जोगाएका थिए । योग, तुलसी, दुबो वर, पीपल, वनजंगल, मठ,मन्दिर, पाटी पौवाहरू, विधिको विधान यसका उदाहरण हुन । पुर्खाले कायम गरेको आत्मनिर्भरतालाई कायम राख्न सकेमा हामी रोजगारीको लागि बिदेशिनु पर्ने थिएन । आफ्नो देशमा उपलब्ध प्राकृतिक श्रोत र मानव श्रोत  कौडीको मूल्यमा विदेशमा फाल्नु पर्ने थिएन ।  

बिना प्रशोधित सामान सस्तोमा दिएर महँगोमा प्रशोधित सामान आयात गर्दा रोजगारी सृजना गर्न सकिँदैन । हामी सजिलैसँग सानो लगानी र मेहनतबाट बर्षे मौसममा उत्पादन गर्न सकिने मखमली र सयपत्री फुल जुन हाम्रो सांस्कृतिक चाड तिहारमा चाहिन्छ त्यो पनि मित्र राष्ट्रहरूमा भर पर्न थालेका छौँ जसबाट वार्षिक २० करोड नेपाली रुपैयाँ बरबरको फुल आयात गर्ने गरिएको देखिन्छ ।  

अवसरहरूलाई पहिचान गर्न नसक्दा हामी सधैँ पर्खाल बाहिरको चउर हरियो देखिराखेका त छैनौँ ? समृद्धिको  सपना  साकार गर्नु छ भने यहाँको परम्परागत कृषि प्रणालीमा सुधार गर्दै वैज्ञानिक कृषि प्रणालीको विकास गर्नुपर्ने  देखिन्छ ।अनि कृषि र पशु व्यवसायलाई राज्य स्तरबाट व्यवस्थापन गरी देशभित्र रहेका सीपमूलक जनशक्तिलाई आधुनिक प्रविधिमा दक्ष बनाई रोजगारमूलक कृषि प्रणालीको  मात्र होइन यसमा आधारित  पर्यटन व्यवसायको पनि विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटनमा  आधारित  रोजगारी सिर्जनाबाट राष्ट्रलाई समृद्धितिर अगाडि बढाउन सकिन्छ ।

केही दशक यता नेपालको परिप्रेक्ष्यमा हेर्दा जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूमा कृषि तथा खाद्य सुरक्षामा सबैभन्दा जटिल समस्या पर्न गएको देखिन्छ । उर्वर जमिन भए पनि सिचाइका लागि कुलो, नहर आदिको विकास नभइसकेकाले मनसुनी वर्षामा निर्भर बन्न बाध्य कृषि क्षेत्रले समयमा मनसुनी वर्षा नहुँदा मौसम अनुसारको खेती गर्न पाएको छैन । वर्षा धेरै कम हुने हुँदा पानीका मुहानहरू सुक्दै जानाले धेरै स्थानहरूमा पिउने पानीको समेत अभाव देखिएको छ । 

सिँचाइको अभावका कारण उत्पादन पनि नहुने र पिउने पानीको अभावका कारण पहाडी क्षेत्रका बासिन्दाहरू बसाइँ सर्ने प्रथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बढ्दो देखिन्छ । त्यसमाथि यस वर्षको पहिरोका कारण पहाडी क्षेत्रबाट बसाइ सराइको सम्भावना धेरै छ ।अर्कोतर्फ आफ्नो देशमा रोजगारीको अवसर नभएका कारण वैदेशिक रोजगारीमा जाने र कमाएको धनले तराईका बाटोछेउमा तथा सहरमा घडेरी किन्ने प्रचलन बढेको छ । 

यसका साथै पहाडका सबै जग्गाजमिन छाडेर अन्यत्र बसाइँ सर्नेको लहर पनि कम छैन । आफ्नो पुर्खाले गरेको कृषि पेसालाई त नयाँ पुस्ताले चटक्कै छाडेको देखिन्छ । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाउँघरहरू पनि खाली बन्दै गएका छन् । घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खर बारीमा काँढा, खेतबारीमा बनमारा मौलाएको देख्न पाइन्छ । घरका छानाहरूमा झार, आँगनमा सिस्नो, कण्टकारी र दुबो मौलाएको छ भने गोठका छानामा फर्सी, इस्कुस र चुच्चे करेली मौलाएका छन् तर यसको उपभोग गर्ने कोही देखिँदैन । 

गरिब परिवारका सदस्यहरू साहुको ऋण धनका कारण घरजग्गा धितोमा राखी श्रम बेच्नका लागि वैदेशिक रोजगारीमा कतार, मलेसिया, दुबई र भारतमा पुगेका छन् । परम्परागत ज्ञान सीपका धनी शिल्पी समुदायहरूले  पनि आफ्नो सीपको विकास गर्नेतिर त कुरै छोडौँ, निरन्तरता दिनेतर्फ सोचेको पनि छैन जस्तो देखिन्छ । 

हामी यस्तो अवस्थामा छौँ जहाँ रहेका अवसरहरूलाई न त राज्यले जिम्मेवारीपूर्वक हेरेको छ न त यहाँका बासिन्दाले नै । पहाडका कृषियोग्य जमिन बाझिँदै गएका छन् भने काठमाडौँ र तराईका उवबर भूमिलाई टुक्रा (प्लटिङ) पारेर बेच्ने कामले व्यापकता पाएको छ । 

वैदेशिक रोजगारीबाट आएको धन घडेरी किन्न अनि घर बनाउनमा खर्च भएको छ । घर बनाउने र भाडामा लगाउने लहर काठमाडौँमा मात्र होइन, देशका विभिन्न साना ठुला सहरमा पनि निकै मौलाएको छ । यसबाट समाजमा धेरै नकारात्मक प्रवृत्ति मौलाएको पनि देख्न र सुन्न थालिएको छ । 

बल्लतल्ल तरकारी खेतीतर्फ उन्मुख किसानहरूले पनि कृषि सम्बन्धी राम्रो ज्ञानको अभावमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण आफ्नो स्वास्थ्य मात्र होइन, उपभोक्ताहरूलाई समेत खतरामा पारिरहेका छन् । पढेपछि काम गर्न हुन्न, गाउँमा बस्नु हुन्न, कृषि पेसा त अक्षर नचिन्नेहरूले मात्र गर्ने हो भन्ने गलत सोचाइको विकास भएको देखिन्छ । सहरमा बस्ने, बच्चाहरूलाई आवासीय विद्यालयमा राख्ने, सबै बनावटी खाना खाने प्रवृत्ति हाबी भएको धेरै देखिन थालेको छ ।

हुन त हाम्रा गाउँघरहरूमा राम्रा विद्यालय, हस्पिटल, कलेज र उद्योग कलकारखानाको विकास भएको भए परिस्थिति अर्कै हुन्थ्यो होला । आफ्नो देशमा भएका धेरै अवसरहरूको प्रयोग नगरी हामी विदेशकै कमाइ अनि विदेशकै उत्पादनमा भर पर्न थालेका छौँ । यस्तो मानसिकता रहिरहने हो भने छिमेकी राष्ट्रहरूले  फेरि नाकाबन्दी लगाउँदा नेपाली जनताले  के खाएर बस्ने होला ? समयमा नै यस्तो तितो सत्यलाई मनन गरी अग्रगामी पाइला नचालेमा भविष्यमा जटिल र विकराल अवस्था नआउला भन्न सकिन्न ।

हामीसँग अथाह स्रोत र साधनहरू (वन, जल,जमिन र मानव श्रोत)  उपलब्ध छन् ।  स्रोत र साधानहरुको राम्रो पहिचान गरी दिगो प्रयोग गर्नु पर्दछ । उपलब्ध जलश्रोतको सदुपयोग द्वारा सिँचाइको  राम्रो व्यवस्था,समयमा मल, बीउ, प्रविधिको उपलब्धता,उद्यमशीलताको लागि चाहिने सहुलियत ऋण, उत्पादित वस्तुहरूको स्तरीकरण, राम्रो बजार व्यवस्था,विदेश निर्यातको लागि चाहिने सहजीकरण  राज्य स्तरबाट हुन जरुरी देखिन्छ । 

युवा पिँढी जनता स्वयंले पनि विदेशबाट सिकेको नयाँ सीप र प्रविधिको प्रयोगका साथै परम्परागत प्रणालीको अनुसरणबाट स्वदेशमा नै  खाद्य, कपडा तथा औषधिजन्य वस्तुहरू  उत्पादन गरी आत्म निर्भर  बन्नुपर्दछ । प्राङ्गारिक  खाद्यवस्तु उत्पादन गरी स्वस्थ खाद्यान्नदेखि घरेलु उद्योगहरूको स्थापना गरी जीविकोपार्जनका सम्पूर्ण वस्तुहरू उत्पादन गरी अपार रूपमा उपलब्ध स्रोत र साधनको दिगो प्रयोग बाट आत्मनिर्भर बन्नुका  साथै विदेशमा निर्यात गर्न सक्ने प्रचुर सम्भावनाहरू छन् । आइपर्ने चुनौतीको सामनाका साथ आफ्नो देशमा भएका अवसरहरूको प्रयोग गर्नु आवश्यक छ ।  समयमा सोचौँ,पाइला चालौँ, धैर्यका साथ कोसिस गरौँ  अवश्य समृद्धिको बाटो पक्डने छौँ ।

               (लेखक खनाल वन तथा प्राकृतिक स्रोतसाधन व्यवस्थापन विज्ञ हुनुहुन्छ)

 

 

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ३२ बजे