‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संघीय संसद् भवन निर्माणमा अनियमितता, सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ । मुलुकको सर्वोच्च प्रशासनिक केन्द्र सिंहदरबारको संघीय संसद् भवन निर्माणमा अनियमितता भएको उजुरी परेको छ ।

सिंहदरबार परिसरको उत्तरतर्फ निर्माणाधीन संघीय संसद् भवन निर्माणका क्रममा गम्भीर अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो । योसँगै केन्द्रले छानबिन सुरू गरिसकेको छ ।

५ अर्ब २ करोड रुपैयाँको ठेक्कामा निर्माण सुरु गरिएकामा भेरिएसन अर्डरमार्फत लगिएको करिब ५६ करोड रकम अनियमित गरिएको भन्दै उजुरी परेपछि सतर्कता केन्द्रले छानबिन गरेको सुरु गरेको हो । प्रधानमन्त्री कार्यालय मातहत रहेको सतर्कता केन्द्रले यस सम्बन्धमा छानबिन गर्न उपसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

सिंहदरबार परिसरमा संघीय संसदका करिब एक दर्जन सुविधा सम्पन्‍न भवन बनिरहेका छन् । भवन निर्माण कम्पनीले तीनपटक भेरिएसन अर्डरमार्फत पहिलोपटक तीन प्रतिशत तथा दोस्रो र तेस्रो पटक चार/चार प्रतिशतका दरले करिब ५६ करोड थप रकम अनियमित तवरले लगिएको उजुरीकर्ताको दाबी छ ।

यस सम्बन्धमा समितिले छानबिन गरिरहेको र केही दिनमै प्रतिवेदन तयार गरी बुझाउने स्रोतले बताएको छ । सिंहदरबार परिसरमा रहेको पुरानो संसद् भवनमा पानी चुहिने भएपछि नयाँबानेश्वर स्थित अन्तर्राष्ट्रिय केन्द्रको भवन भाडामा लिएर संसद् चलाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : २३ बजे