एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

विवाहलाई बन्धनरहित संस्कारमा रूपान्तरण गरिनु आजको आवश्यकता

पूर्वीय र पाश्चात्य दुवै समाजमा मानव उद्विकासको चरणमा जीवनलाई सहज तुल्याउने उद्देश्यले विवाह संस्कारको परिकल्पना र कार्यान्वयन हुँदै आएको हो ।

कालक्रमसँगै विवाह संस्कार सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक एवं मनोवैज्ञानिक बहुआयामिक पक्षहरूबाट प्रभावित, परिवर्तित एवं क्रियान्वित भइरहेको पाइन्छ । प्रकृति र पुरुषबीचको प्रेम र सहसम्बन्ध प्राकृतिक विशेषता हो । प्राचीन समयमा त्यस्तो प्रेम र सहसम्बन्ध प्राकृतिक रूपमा स्वतन्त्र चयनमा आधारित हुने गर्थ्यो ।

घुमन्ते फिरन्ते युगदेखि पूर्व वैदिक कालसम्म मातृसत्तात्मक व्यवस्था कायम रहेसम्म महिलाहरू आफ्नो सहृयी कुनै पनि पुरुष चयन गर्न स्वतन्त्र थिए । बन्धन थिएन । अष्टमातृकाहरूको पूजा हुन्थ्यो । मातृशक्तिलाई पृथिवी शक्ति मानेर श्रद्धा गरिन्थ्यो । कोसँग सहवास गरी मातृत्व ग्रहण गर्ने भन्ने नारीको पूर्ण स्वतन्त्रता रहन्थ्यो । अष्टमातृकाले रोजेका पुरुष वरण गर्थे । सन्तान प्राप्तिपछि मातृकाको विधिवत् पूजा गरेर पुरुषलाई बलि दिइन्थ्यो । खुसीखुसी बलि चढ्न तयार भएर मातृकासँग एक–दुई वर्ष जीवन बिताउन पनि पुरुषहरू तयार हुन्थे ।

एक पति प्रथाको सुरुवात समेत नभएको त्यो युगमा आफ्नो घर आएका पत्नी अतिथिको सेवामा सुम्पिनेसम्मको चलन चलिरहेकामा अष्टावक्र ऋषिका भानिज तथा उद्दालक अरुणी ऋषिका छोरा श्वेतकेतुले आफ्नी आमालाई त्यसरी अतिथिसँग सहवास गर्न पठाउने बाबु उद्दालकको निर्णयको विरोध जनाएको प्रसंगपश्चात् नै सनातन समाजमा एक पतिव्रता रहनुपर्ने मान्यता सहितको विवाह संस्कार सुरुवात भएको मानिन्छ ।

तत्पश्चात् त्यो युगबाट क्रमशः पुरुष सत्ता कायम गर्दै जाने क्रममा महिलालाई अधीनस्थ रूपमा हेर्ने नजरिया विकास गरियो । नारी पतिको सम्पत्ति सरह रहने र अरू कसैले भोग गर्न नपाइने भन्ने मान्यताको जगमा आधारित एक पति प्रथालाई जबर्जस्त स्थापित गर्दै विवाह संस्कारको रूपमा परिवर्तन गरियो ।

महाभारतकालीन समाजसम्म पनि नारीहरू विवाह संस्कारको दृष्टिले तुलनात्मक रूपमा सस्वतन्त्र रहेको पाइन्छ । कुन्तीले विभिन्न देवतालाई आह्वान गरी नियोगद्वारा सन्तान प्राप्ति तथा द्रौपदीले पाँच पति सहितको विवाहलाई कायम राखेका प्रसंग, सुभद्राले अर्जुनलाई हरण गरेको प्रसंगले नारीहरूको बलियो स्थिति नै देखिन्छ ।

पाश्चात्य समाजमा पनि प्राचीन ग्रिक कालमा नारीलाई विभिन्न देवी शक्तिका रूपमा नै मान्ने गरिएको पाइन्छ । विवाह संस्कारलाई हेर्ने दार्शनिक दृष्टिकोण भने हेय भावले नै हेर्ने गरिएको थियो भन्ने कुरा प्लेटोले ‘रिपब्लिक’ मा समाजमा मानिसहरूको कामको वर्गीकरण गरी स्वर्ण, रजत एवं कास्य मानवका रूपमा चित्रण गरी कास्य वर्गकालाई मात्र विवाह सिफारिस गरेबाट बुझ्न सकिन्छ ।

राज्य सञ्चालन गर्ने विद्वान् र निःस्वार्थ शासक वर्ग एवं देशको रक्षा गर्ने सैनिक वर्गले पनि विवाह संस्कारमा प्रवेश गर्नै नहुने भनी वर्जित गर्न प्रस्ताव गरेबाट विवाह भनेको त निम्छरा साधारण कास्य वर्गका मानिसले मात्र गर्ने कर्मका रूपमा चित्रण गरिएको पाइन्छ । पश्चिमा समाजमा पछि बाइबलको वर्चस्व कायम हुँदै जाँदा विवाहलाई धार्मिक र चर्चको मान्यता बमोजिम हेर्न थालियो । यसका विधान र नियम चर्चहरूले नै तय गर्न थाले ।

विवाह संस्कारको स्वरूप निर्धारण र कस्तो विवाहलाई मान्यता दिने कस्तोलाई नदिने एवं कुन उच्च कोटिको विवाह कुन निम्न कोटिको विवाह भनी छुट्याउने कार्यमा तत्कालीन समाजको धर्म एवं शक्ति सम्बन्धले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । जे भए पनि आखिर विवाह संस्कार समाजमा मानव निर्मित कृत्रिम संस्था नै हो । त्यसैले क्रमशः सम्पत्ति एवं आर्थिक सम्बन्धले पनि विवाह संस्थालाई गम्भीर रूपमा प्रभावित तुल्याउन थाल्यो ।

सम्पत्ति सम्बन्धको प्रभावले क्रमशः विवाह संस्थामा वर र वधु योग्यतामा आधारित चयन हुन थाल्यो विशेष गरी कुल, घरान, शैक्षिक योग्यता इत्यादि सर्तका आधारमा योग्यताको आधारमा हुने छनोट सम्पत्ति सम्बन्धमा आधारित छनोट नै हो । आजपर्यन्त यस प्रकारको सामाजिक परम्परा रहिआएकै छ । सम्पत्ति सम्बन्धमा आधारित विवाह संस्कारले समाजमा वर्ग विभाजन कायम गर्न निरन्तर कार्य गरिरहने हुनाले पुँजीपति र धनाढ्यहरूले यो पद्धतिलाई कायम राख्न जोड बल लगाउनु स्वाभाविक नै हो ।

यस विषयमा एंगेल्सले परिवार र विवाह संस्कारमा सम्पत्ति सम्बन्धको प्रभावबारे गहिरो विश्लेषण गरेका छन् । नेपालमा पनि अझै कतिपय हिमाली क्षेत्र र समुदायमा बहुपति प्रथा केही हदसम्म कायम रहेको पाइन्छ । प्रकृतिपूजक किरात लगायत सम्प्रदायमा अहिले पनि तुलनात्मक रूपमा नारीहरू केही हदसम्म अन्य सम्प्रदायभन्दा स्वतन्त्र रहेको पाइन्छ वैवाहिक संस्कारको मामलामा ।

तर आम रूपमा सनातन व्यवस्था र परम्पराका रूपमा पितृसत्तालाई कायम गर्ने गरी विवाह संस्कार निर्माण, सञ्चालन र कायम गर्ने परिपाटी रहेकामा त्यसमा धार्मिक, सांस्कृतिक मात्र नभई साम्पत्तिक सम्बन्ध तथा हिजोआज त आर्थिक आय र जीविकोपार्जनका लागि विदेशिने प्रवृत्ति हावी हुँदा वैदेशिक रोजगारीमा आधारित आर्थिक सम्बन्धले पनि प्रभाव पार्ने गरेको छ ।
यसैकारण कहिले दाइजोका निहुँमा वैवाहिक संस्थामा रहेका व्यक्तिहरूबीच द्वन्द्व सिर्जना भई नारी प्रताडित हुने र पतिले हत्या हिंसा गर्ने गरेका घटना सार्वजनिक हुन्छन् । त्यस्तै अहिले अमेरिकामा बसाइ सरेर घरबार गर्दै आएको एक जोडीमध्ये पतिले नै पत्नीको हत्या गरेर प्रमाण लोप गर्ने चेष्टा गरेको पीडित ममता काफ्लेको घटना सार्वजनिक भएको छ ।

यी घटनाहरूको खास समस्या पहिचान गरी ठोस समाधानको उपाय पत्ता लगाउन समग्र विवाह संस्कारमा अन्तरनिहित रहेका समस्या र त्यो संस्कारको स्वरूप एवं त्यसको मान्यता र त्यसलाई हेर्ने दृष्टिकोणमा विभिन्न आयामले पारिरहेको प्रभाव एवं आइरहेका परिवर्तन बुझ्न जरुरी हुन्छ ।

हामी समाजलाई प्रविधिको दृष्टिले एआईबाट सञ्चालन गर्न खोज्ने, आधुनिकताको दृष्टिले खुला विचारबाट सञ्चालन गर्न खोज्ने, विश्वलाई विश्वग्रामका रूपमा बुझ्न र उपयोग गर्न खोज्ने तर विवाह संस्कारलाई चाहिँ बडो संकुचित ढंगले परम्परागत जड मान्यतामा पुँजीवादी सम्पत्ति सम्बन्धले थप विषाक्त र प्रदूषित तुल्याई विवाह संस्कारलाई स्वतन्त्रता र स्वायत्ततातिर अग्रसर नगराई थप बन्धनकारी संस्कारमा परिणत तुल्याउने सामाजिक, कानूनी, सांस्कृतिक जडताका कारण यस्ता विकराल आपराधिक समस्याहरू उत्पन्न भइरहेका छन् ।

नारी पुरुष दुवैको स्वतन्त्रता र व्यक्तित्व विकासलाई सहयोगी सिद्ध हुने संस्कारका रूपमा समृद्ध तुल्याउनुको सट्टा विवाहलाई बन्धनका रूपमा झन् झन् नापीतौली कठोर र जडतातिर लैजानाले अहिले धेरै परिवारमा विखण्डन, विग्रह, अशान्ति र कतिपय ठाउँमा हिंसात्मक अपराधको परिणामहरू देखिइरहेका छन् ।

अतः व्यक्तिको स्वतन्त्रता, वैयक्तिक क्षमताको प्रवर्द्धन, आत्मनिर्भरता, व्यक्तित्व विकासमा प्रवर्द्धनमा केन्द्रित तुल्याई बन्धनरहित थप मर्यादित मानवअधिकार मैत्री संस्थाका रूपमा विवाह संस्कारको रूपान्तरण र विकासमा जोड दिन नसक्ने हो भने विवाह संस्कार सिर्जित थप विकराल समस्याहरू आगामी दिनमा समाजले मूकदर्शक साक्षीका रूपमा हेरिरहनुको विकल्प देखिँदैन ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ३८ बजे