‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युवावर्ष मोती पुरस्कार बाल साहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई

काठमाडौं । यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक, चलचित्र लेखन, निर्देशनमा सक्रिय युवा बाल साहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

बालसाहित्य र रंगमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पु-याएबापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।

वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिस अनुसार विसं. २०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विसं. २०४२ मा स्थापना भएको हो ।

४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औंसीको दिन प्रदान गरिँदै आएको छ ।

नियमित प्रदान गरिँदै आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ५२ बजे