‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रहरीमा अर्बको ठेक्कामा ठुलै गोलमाल, चीन र बंगलादेशको रिपोर्ट शंकास्पद !

काठमाडौँ । नेपाल प्रहरीले यसै आर्थिक वर्षका लागि माग गरेको बन्दोवस्तीका सामानको ठेक्कामा ठुलै गोलमाल भएको आशंका गरिएको छ । करिब १ अर्ब मूल्य बराबरको ठेक्कामा गुणस्तर मापन रिपोर्टमै गोलमाल गरिएको आशंका छ । प्रहरीले गत साउन ७ गते संगठनका लागि आवश्यक २१ प्रकारका सामान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।

उक्त बोलपत्र बमोजिम सामान आपूर्ति गर्न बोलपत्र खरिद गरेका विभिन्न आपूर्ति कम्पनीले गुणस्तर मापन रिपोर्टमा चलखेल गरेर टेन्डर भरेको समाचार स्रोतले बताएको छ । बोलपत्र अनुसारको ठेक्का हाल्नु अगाडि आफूले बुझाउने सामान नेपालको गुणस्तर तथा नापतौल विभाग अथवा अन्तर्राष्ट्रिय कम्पनी इन्टरटेक र एसजीएसबाट गुणस्तर मापन गराउनुपर्दछ । यसका लागि कतिपय कम्पनीले नेपालकै गुणस्तर विभागबाट र कतिपयले विदेशी कम्पनीबाट गुणस्तर मापन गराउने प्रचलन छ ।

यसपटक केही कम्पनीले बंगलादेश र चीनबाट गुणस्तर मापन गराएको र त्यसमा चलखेल भएको स्रोत बताउँछ । नेपालमा पनि विभागका अधिकारीले रिपोर्ट तयारीमा चलखेल गरेको स्रोतको दाबी छ । नापतौल विभागमा केमिकल्ली र फिजिकल्ली गरी छुट्टाटुट्टै परीक्षण हुने गर्दछ । यसमा केमिकलतर्फ किरण सुवेदीले र फिजिकलतर्फ किरण पौडेलले गुणस्तर मापन गर्ने गर्दछन् । कतिपय कम्पनीले सेटिङमार्फत रिपोर्ट बनाउने गरेको र त्यसमा किरणद्वयको सहयोग रहने गरेको बताइएको छ ।

यसअघि भारतबाट गुणस्तर मापन प्रतिवेदन तयार गरी ठेक्का हाल्ने गरिएकामा त्यस्तो रिपोर्टमै गोलमाल गरिएपछि त्यहाँ टेस्ट रिपोर्ट बनाउन बन्द गरिएको छ । त्यसपछि कतिपय कम्पनीले चीन र बंगलादेशमा त्यस्तो रिपोर्ट बनाउने गरेका छन् । भारतको रिपोर्ट नक्कली बनाएर पेस गरे जस्तै कतिपय कम्पनीले अहिले पनि विदेशको रिपोर्टमा कैफियत रहेकाले छानबिन हुनुपर्ने स्रोत बताउँछ ।

प्रहरीले यस वर्ष चुस्ता ५० हजार थान, पार्का ज्याकेट ५० हजार थान, ब्ल्यांकेट ३५ हजार थान, डिएमएस बुट २० हजार जोर, कटन सर्ट १ लाख २० हजार मिटर, उलन सर्ट ६० हजार मिटर, उलन पाइन्ट ४० हजार मिटर, कटन पाइन्ट ६० हजार मिटर खरिद गर्न टेन्डर आह्वान गरिएको छ ।

त्यसैगरी अन्टर भेस्ट ट्राउजर सेट २५ हजार थान, टप बुट ११ हजार जोर, हिमाली क्षेत्रमा लगाइने स्नो ज्याकेट, स्नो बुट र स्नो स्वेटर २ हजार ५००-२ हजार ५०० थान, झुल ४० हजार थान, ब्यारेड क्याप ४० हजार थान, स्लिपिङ ब्याग १० हजार थान, ट्र्याकसुट १३ हजार ५०० थान, रेन सुट ११ हजार थान, पेटी ३२ हजार थान र उलन स्वेटर १२ हजार थान खरिद गर्न लागेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ०० बजे