एजेन्सी । अर्जेन्टिनी स्टार लाउटारो मार्टिनेजको दुई गोल प्रेरित इन्टर मिलान आइतबार काग्लियारीमाथि ४–० अन्तर सहज जितका साथ इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ ।
एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो ।
२९औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि खाता खोले । ४४औँ मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।
५०औँ मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे । ६६औँ मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३–० मा पुर्याए । त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गरे ।
जितसँगै इन्टरको १७ खेलमा ४० अंक छ । दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ ।
प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ८ : १४ बजे
प्रतिक्रिया