‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आँबुखैरेनी बस दुर्घटना: अस्पताल पुगेर गृहमन्त्रीले लिए घाइतेको उपचार बारे जानकारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरूको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनापछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौँ आइपुगेकी छन् । उनी पनि घाइतेहरूको शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेकी छन् । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्री खड्सेसँग पनि संवाद गरेका थिए ।

घाइतेहरूको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरूको उपचार राम्रोसँग भइरहेको बताए । ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरूलाई बचाउन सकियो । केही मानिसहरूको मृत्यु पनि भएको छ, दुःखद घटना भएको छ । घाइतेहरूको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरू हुनुहुँदो रहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिरहनु भएको छ,’– मन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सुधार हुदै गएको मन्त्री लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : ०६ बजे