मैले नाक र मुख फेर्न सक्दिन साथी
मैले जात र थर फेर्न सक्दिन साथी
मैले आमा फेर्न सक्दै सक्दिन साथी
मैले बाउ फेर्न सक्दै सक्दिन साथी
चाहे नि, त्यो मेरो बसमा छैन साथी
बसमै भए नि मैले फेर्ने थिइन साथी
मेरा बाबु, आमा नै ईश्वर हुन् मलाई
मेरा कुल, पितृ नै देवता हुन् मलाई
मेरो घर, गाउँ, स्वदेश मुटु हो मलाई
मेरो नाम, थर, भेष चिनो हो मलाई
मेरो वंश संस्कार अनमोल छ मलाई
मेरो चित् धर्म ब्रह्म शास हो मलाई
तिमी त झन् मेरो बालसखा हौ साथी
तिमी त झन् मेरो लालजोडी हौ साथी
तिमी रिस्सिंदा मेरो मन दुख्दछ साथी
तिमी पिरिँदा मेरो मन चिरिन्छ साथी
मलाई नि थाहा छ ,
तिम्रा कथा नि, मेरा झैँ जीर्ण छन् साथी
तिम्रा बेथा नि, मेरा झैँ रुग्ण छन् साथी
तिम्रो मन पनि मेरै झैँ कोमल छ साथी
तिम्रा लाला नि मेरै झैँ काँचा छन् साथी
तिमी जसरी जन्मियौ, म त्यसरी नै जन्मिएँ
तिम्ले जसरी दूध चुस्यौ, मैले त्यसरी नै चुसेँ
तिमी जसरी हुर्कियौ, म नि त्यसरी नै हुर्किएँ
फरक यत्ति छ – तिमी थ्याप्चे, म चुच्चे बनेँ
मलाई थाहा छैन,
तिम्रा पुर्खा कहाँ बाट आए या यहीँ सिर्जे ?
मेरा पुर्खा कहाँ बाट आए या यहीँ बस्दथे ?
पर्सियाबाट आए कि, मंगोलियाबाट आए ?
यहीँ पैदा भए कि, क्रमशः ठाउँ सर्दै आए ?
भन्छन्,
आर्य त ब्याससँग आए, वाल्मीकिसँग आए
मंगोल जाति कहिले र कसरी, कोसँग आए ?
लु तिम्रै दृष्टिमा ती दुवै जाति बसाइँ आए
खासमा मूलवासी को हुन् त, जो सर्दै आए ?
बस मैले यत्ति देखेँ,
तिम्रा र मेरा आमा बाउ असाध्य मिल्दथे
मेलापात, ऐंचोपैंचो, गोठालो एकसाथ गर्दथे
टिनका टिन घिउ, तेल हाटबजार लैजान्थे
फर्कँदाखेरि नुन, चिनी, लुगा लिएर आउँथे
ठट्यौली गर्थे, खितखित हाँस्थे, गाउँथे, नाच्थे
रमाउँथे, उफ्रिन्थे, सुख र दुस्ख बाँडचुँड गर्दथे
चाडपर्व, मेला, संस्कृति दुवैको दुवैले मनाउँथे
साँच्चिकै भन्दा ती दुवैजना बेजोड साथी थिए
त्यसकारण,
बाउबाजे झैँ मिल्न हामी किन हुन्न ए साथी ?
नङ्गमासु झैँ टाँसिन हामी किन हुन्न ए साथी ?
हाम्रो नाता भावनाको हो, बनोटको होइन साथी
हाम्रो जात सामाजिक हो, सृष्टिको होइन साथी
काठमाडौँ
प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १ : ०७ बजे
प्रतिक्रिया