‘नेशनल डे कन्सर्ट’ सम्पन्न

समिक्षा

राष्ट्रवादी भाव बोकेर आएको ‘मैले खोजेको देश’

कवि, लेखक, विश्लेषक, सम्पादक/ प्रकाशक तथा पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि सं २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् ।

यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पार गर्दा पनि ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पूरा गरेर निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर–८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति जस्तो आभास उनका कविताले दिलाउँछन् ।

झापा भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृतिविरुद्ध प्रहार गर्ने सशक्त सर्जक हुन् । स्वतन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ । वि सं २०८१ वैशाख ६ गते दोस्रो कृतिका रूपमा प्रकाशित भएको ‘मैले खोजेको देश’ कविता संग्रह राष्ट्रवादी भावसित विद्रोह बोकेर आएको छ । यस संग्रहका कविताले कवि ढुंगानालार्ई राष्ट्रवादी सर्जकका रूपमा उभ्याइदिएको छ ।

उनका कविताले राष्ट्रप्रति निःस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति विसंगतिप्रति प्रहार, आजको राजनीतिमाथि अविश्वास गर्दै विद्रोहको ज्वाला दन्काउने प्रयास गरेको छ । मानव जीवनमा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल कविका अधिकांश कविताले मान्छेकै बेलिबिस्तार गर्दै देशप्रति माया दर्शाएर शासकीय स्वरूपको विकृतिमाथि चिरफारको प्रयास पनि गरेका छन् । समय अनुसारको आवाज र राजनीतिको अन्धोपना बीचको द्वन्द्व पनि प्रस्ट्याउने इच्छा राखेको पाइन्छ । उनका लामा छोटा गरी ७० वटा कविताले मूल रूपमा देशलाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैली जस्ता पक्षलाई मूल भाव बनाएका छन् । उनका कविताहरू फुटकर टुक्राटाक्री देखिए पनि भव प्रस्तुतिमा कुनै न कुनै रूपमा शक्तिशाली राष्ट्रवादी भावना बन्न सफल देखिन्छन् ।

मैले खोजेको देश कविता संग्रहमा ७० वटा कवितालाई ११८ पृष्ठमा बिटो कस्ने काम भएको छ । अवि खरेलले नेपालीपन झल्किने आकर्षक आवरण प्रस्तुत गरेका छन् । यस पुस्तकमा हरि अधिकारी र कृष्ण धरावासीको भूमिका, विवश पोख्रेल र प्रमोद प्रधानको कृतिभित्रका कवितामा रहेका विषयवस्तु केन्द्रित टिप्पणी रहेको छ ।

भूमिकामा कवि राजेशलाई स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिकर्मी, पत्रकार र सफल कविका रूपमा परिचय गराउने प्रयास गरिएको छ । साना ठुला गरी ७० वटा कविता रहेको यस कृतिले देशको राजनीति विकृत र विसंगत बन्नुमा गोली तथा बारुदको धङधङी रहेको निचोड निकालेको छ । संग्रहित हरेक कविताले एउटा नयाँ भावलाई उराल्ने प्रयास गरेका छन् ।

नेपालमा वि सं २००७ सालदेखि वर्तमानसम्म राजनीतिका तन्त्रैतन्त्रको खात लगाइसक्ता पनि, पुस्तौँ पुस्तासम्म राजनीतिक लडाइँ लडिरहनुपरेको आक्रोश भेटिन्छ । देश भ्रष्ट, चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र मस्ती केन्द्र भइरहेको छ । बाँच्नका लागि नागरिककले देश छोडेर विदेशीको दास बन्नुपरेको अवस्थामाथि व्यंग्य कसिएको छ । मान्छे हुन केही गर्नुपर्छ भन्ने भावना विचारका रूपमा कवितामा आएका छन् । हत्या–हिंसाबाट उम्रिएको राजनीतिले देश र जनतालाई सुख, शान्ति र समृद्धिको फल दिन सक्दैन । राजनीतिलाई नागरिकले बेइमानी, ठगी, लुट–झुट र अनैतिकता स्वाभाविक हुने खेलका रूपमा बुझ्नुपर्ने अवस्था छ । देशको हित विपरीतका गतिविधिमाथि कवितामा व्यंग्यकोबाण बजारिएको छ । विसं. २०७० देखि २०८० सालका बीचमा साहित्यिक तथा समचारपत्रका साहित्य अंकमा प्रकाशित कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् । यस कविता संग्रहले सरल शब्दभित्र प्रभावकारी विम्ब र उत्कृष्ट काव्यशिल्प प्रयोग गरेको देखिन्छ । मान्छे उन्मुक्त स्वतन्त्रता प्रेमी भएको ठान्ने कवि ढुंगानाले मान्छेभित्र लुकेका अहम् र विकृतिविरुद्ध भने खरो प्रहारसमेत गरेका छन् ।

‘मैले खोजेको देश’ कविता संग्रह सुन्दर कलात्मक आवरणले सजिएको छ । आवरणको पृष्ठभूमिमा दृश्यचित्रले नेपालको हिमाल पहाड र तराईको भौगोलिक स्वरूपलाई एकाकार गरेर देखाएको छ । हरेक कविताहरू विम्ब र कलाले भरिएका कलात्मक छन् । गहन भावसित गाँसिएर उत्कृष्ट अभिव्यक्तिका रूपमा आएका छन् । कविता पढ्दा पाठकले आनन्दानुभूति गर्ने अवसर पाउने छन् ।

उनका कविताले मन र मस्तिष्कलाई सोचनीय बनाउने छन् । हाम्रो संकुचित समाजमा कतिपय शब्दहरू निर्लज्ज देखिन सक्छन् । त्यो मानव समाजको यथार्थ ऐना हो तर पनि पचाउन सहज छैन । कवि राजेश ढुंगानाका कविताहरूले देश दुनिया छोडेर मानवताबाट टाढा भागेका छैनन् । वर्तमान नेपाली राजनीतिमा सत्तामोह र स्वार्थमा लागेका नेताहरू प्रति व्यंग्य र विद्रोहका स्वरहरू उराल्ने प्रयास गरिएको छ । पहिलो कृतिभन्दा कवि ढुंगाना दोस्रो कृतिमा आइपुग्दा बलवान विद्रोहीका रूपमा देखिएका छन् ।

यस कृतिका कविताहरूमा मातृभूमि, राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रताको वकालतलाई बलियो बनाउने प्रयास गरिएको छ । नेपालको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक जस्ता पक्षलाई राजनीतिक आवरणमा नियन्त्रण गरिएकामा प्रतिवादको आक्रोश पोखिएको यस कविता संग्रहले नयाँ युग जन्मिने संकेतसमेत छोडेको छ । विद्रोह एक युगमा एकपटक ज्वालामुखी बनेर आउने विश्वास राजनीतिले राखे पनि नेताका कारण राजनीतिमाथि पटक पटक विद्रोहले धावा बोल्नुपरेकामा कवि आक्रोश पोख्दै भन्छन्—
१. युद्ध
झुप्राहरूले
महलका विरुद्ध लड्दै छन्
बन्दुकका विरुद्ध
केवल
हात र आवाजहरूले
लड्नेछन् । (हात र आवजहरू)

२. म विद्रोह बोल्छु
र बारम्बार
तिम्राविरुद्ध म विद्रोह गर्छु । (ईश्वर नै भए पनि)

माथि उल्लेखित दुई टुक्रा कविताका सारले नै भन्छ कवि राजेश ढुंगाना देश र जनताको भलाइका लागि विद्रोह बोल्ने राष्ट्रवादी कवि हुन् । जसले विचारलाई हतियार बनाएर बिध्वंसका बमहरू सधैंका लागि देशका सिमानाबाट फाल्ने हिम्मत कसेका छन् । चेतन र अवचेन मनभित्र देशको माटो साँच्नेहरू साँच्चै राष्ट्रवादी बन्न सक्छन् भन्ने तथ्य राजेश ढुंगानाले फुटकर कवितामार्फत मैले खोजेको देशका रूपमा प्रस्तुत गरेका छन् । नेपाली फुटकर कविता काव्य जगतमा यस कृतिले एउटा बलियो इटा बनेर आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : ४५ बजे