पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक देखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : १५ बजे