पब्लिक खपतका लागि र पार्टीमा सधैँ टिकिरहन सडक आन्दोलनले अल्मलाउनु आत्मतुष्टि मात्रै हुनेछ । समय अनुसार संविधान संशोधन हुन्छ । यो लोकतन्त्र हो र यही लोकतन्त्र हो । संविधान छुनै नहुने एकतन्त्रमा मात्रै हो । संविधान संशोधन गरेर बहु पार्टी हटाएर दुई पार्टी लेखिने कुरा होइन । यस्ता भ्रम छरेर केही दिन टिक्न सकिएला, दीर्घायु हुन सकिन्न ।
जनमतसंग्रह गरौँ न त, बहुल नागरिकले विकास, निर्माण, रोजगारी, निर्यात, शिक्षासँग सिप रोज्छन् कि सडक आन्दोलन ?
लाग्छ सत्ता औषधी हो । नियमित औषधी सेवन रोकियो भने असामान्य गतिविधि ‘विथड्रल सिम्पटम्स’ देखिन थाल्छ । खै किन ! फागुन र असारको विश्वासको मतलिँदा अनि बालुवाटारमा ठेस लागेर खुमलटार पुग्दा तोरीका फूल देखेछन् क्यार पूर्वप्रधानमन्त्री एवं विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विथड्रल सिम्पटम्स देखाइरहेका छन् ।
यी हरफहरू लेखिरहँदा ‘प्रचण्ड’ प्रति आग्रह वा द्वेषको गन्ध आउला, अँ हँ ! त्यस्तो कतै केही छैन । उनले देशलाई केही दिन सकेको भए स्तम्भकार पनि भागेदार हुने नै थियो । लेख्दै रोकिँदै आँखा चिम्म गरेर सोच्दा यो २९ वर्षमा उनले दिएको विद्रोह, विस्फोट, अत्यास, सनातन पद्धति र संस्कार छिन्नभिन्न, एकबाट अनेक पार्टी, आन्दोलन र विध्वंसको धम्की, अराजकता बाहेक केही भेटिएन । अरू त छोडौँ, २१औँ शताब्दीको ध्वंसात्मक द्वन्द्व झल्किने कुनै स्थानसमेत जस्ताको तस्तै राख्न सकेनन् । अरू अपेक्षा भनेको दिवा सपनाबाहेक अरू केही हुन सक्दैन । सरकारले गरेका काम देखेन भनेर किन गुनासो गर्नु, ठगीको आरोपी काखी च्यापेर अनुसन्धान प्रभावित पर्नुचाहिँ सरकारको काम मान्नुपर्ने ? प्रचण्डलाई आजको प्रचण्ड बनाउने लडाकुको रकम राज्यबाट लगेर भ्रष्टाचार गर्नेको छनबिन र कारबाही गर्न नसक्नेले सुशासनको अरू कुन काम देखाउने हो ? बुझ्नै सकिएन ।
शासन बदल्नु भनेको जनताको आर्थिक अवस्था एवं देशको उन्नयन नै हो । उनका कुलगुरु माओ वा मार्क्सका सिद्धान्त भनेकै आर्थिक नीति थिए । भूमिगत हुँदा वा सत्तामा हुँदा प्रचण्डसँग देशको आर्थिक अवस्था बदल्ने उन्नत योजना त देखिएन । सत्तासँगै प्रधानमन्त्रीको निवास छोडेर निजी निवास पुगेदेखिका समाचार शीर्षक हेरेर यो स्तम्भ नलेखी रहन सकिएन ।
उनको भाषण अनि केही समाचार शीर्षकहरू–
–नेता–कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ, तयार रहनू
–माओवादीले गरेका राम्रा कामहरू देख्न नसकेर नयाँ गठनबन्धन बनेको हो, यसको उद्देश्य गलत छ : प्रचण्ड
–प्रतिनिधिसभामा दाहालको प्रस्ताव– परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं
–जनयुद्ध जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल
–चुनबाङ बैठकको भविष्यवाणी मिल्यो, नेपालमा छिट्टै ठुलो आन्दोलन आउनेवाला छ : दाहाल
प्रिय प्रचण्डजी, सत्तामा हुँदै यो विवेक, चेत र जरुरत किन आएन ? कि सत्ताबाट बहिर्गमित हुँदै ‘दि हेग’ को सन्त्रासले यति साह्रै फटफट र चिटचिट पसिना निकालिदिएको हो ? सम्हालिँदा बेस होला ।
हो, कतिपय मानिसहरू सत्ताबाट बाहिरिन चाहँदैनन् । जब बाध्य भएर सत्ता छोड्नुपर्छ, तब उनीहरू अन्टसन्ट बोल्ने, समाजलाई उत्तेजित पार्ने भाषण वा वक्तव्यबाजी गर्न थाल्छन् । यस्तो व्यवहारलाई ‘सत्तालिप्सा’ वा ‘सत्ता लिप्तता’ भन्छन् राजनीतिका पण्डितहरू । यो अवस्था मानसिक स्वास्थ्यको दृष्टिकोणबाट ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ अथवा अन्य सम्बन्धित मानसिक विकारको संकेत पनि हुन सक्छ ।
अर्कोतिर साइकोलोजीका विज्ञहरू भन्छन्- नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसमा व्यक्तिले आफ्नो महत्त्वको अत्यधिक भावना राख्छ, प्रशंसाको निरन्तर आवश्यकता हुन्छ, अन्यहरूको ईर्ष्या, अतिशयोक्ति, व्यक्तिहरूप्रति हेय दृष्टिकोण, अपमानजनक व्यवहार, व्यक्तिहरूलाई नियन्त्रण गर्ने प्रयास र अन्य व्यक्तिहरूको क्षमता, भावना कम देख्छ ।
विपक्षी नेता प्रचण्डको अहिलेको जस्तो संसारका धेरै नेता र सत्ताधारीहरूले यो प्रकारको व्यवहार देखाएका छन् । इतिहासमा रोबर्ट मुगाबे, सद्दामहुसैन, मुअम्मर गद्दाफी जस्ता नेताहरूमा यो प्रवृत्ति देख्न सकिन्छ । यस प्रकारको व्यवहारले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ र हिंसा, अराजकता र विभाजन उत्पन्न गर्न सक्छ, जुन प्रचण्डका पछिल्ला केही भाषण र न्युज हेडलाइनबाट देख्न सकिन्छ ।
यो अवस्था मानसिक विकारको रूपमा पनि हेरिन सक्छ, विशेष गरी नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर वा अन्य व्यक्तित्व विकारहरूको रूपमा । केही अवस्थामा यो विशुद्ध रूपमा एक मानसिकता पनि हुन सक्छ, जहाँ व्यक्ति आफ्नो शक्तिको मोहमा फसेका हुन्छन् र सत्ता छोड्न नचाहेर यस प्रकारको व्यवहार देखाउँछन् । मानसिकता र विकारबीचको विभाजन कहिलेकाहीँ अस्पष्ट हुन सक्छ र यसलाई बुझ्नका लागि गहिरो मानसिक स्वास्थ्य विश्लेषण आवश्यक हुन सक्छ ।
यस्तो अवस्थामा व्यक्ति र मुलुक दुवैलाई मनोचिकित्सा विशेष गरी संज्ञानात्मक व्यावहारिक चिकित्सा (सीबीटी) प्रभावकारी हुन सक्छ । यसले व्यक्तिको सोचलाई पुनर्विचार गर्न र व्यवहार परिवर्तन गर्न मद्दत पु-याउन सक्छ ।
यो अवस्था अझ स्पष्ट त हार्वर्ड मेडिकल स्कुलको मेडिकल जर्नलमा पढ्न सकिन्छ । उक्त जर्नलमा सामाजिक फोबिया भनिने विकारयुक्त सामाजिक चिन्ताको चुनौतीपूर्ण अवस्था, उपचार र व्यवस्थापनका सुझावहरू संग्रहित छन् । यसलाई सामाजिक चिन्ता विकार (एसएडी) पनि भनिन्छ । यो एक सामान्य मानसिक स्वास्थ्य विकारबाट अमेरिकामा हरेक वर्ष करिब ७ प्रतिशत वयष्क प्रभावित हुने गर्छन् । एसएडीलाई सामाजिक परिस्थितिहरूमा अत्यधिक डरका रूपमा चिनिन्छ, चाहे त्यो प्रस्तुति दिने होस् वा कुनै पार्टीमा सहभागी हुने होस् । एसएडीबाट पीडितहरूलाई अरू मानिसले वास्ता नगर्ने वा अपमानित गर्ने हुन् कि भन्ने डर लाग्छ ।
प्रसंग प्रचण्डमै जोडौँ- कुनै एक साधारण नागरिक पनि यस्तो समस्याबाट ग्रस्त हुनु दुःखद हो तर देशको क्रियाशील नेतामा यो लक्षण देखिनु र उनको सक्रियता कायम हुनु पक्कै देश र व्यवस्थाका लागि सही होइन । रक्त रञ्जित द्वन्द्वले देश आर्थिक, भौतिक, सांस्कृतिक रूपमा थिलोथिलो परेर धन्न थिर थिर गरिरहेको बेला देखिँदै गएका उनका व्यवहार शान्ति र स्थिरतको गन्तव्यतर्फ लक्षित देखिन छोडे । ३० वर्षअघिको समाज, सामाजिक संरचना, व्यवस्था र चेतना अहिले छैन भन्ने उनले भुलेको देखियो । यो सम्झिन जरुरी छ ।
द्वन्दको चरम अवस्थामा त प्रतिकार भएका घटना स्मरण गर्न जरुरी छ । विपक्षी दलको नाताले सरकारका कामको आधारमा विरोध गर्नु धर्म र कर्तव्य नै हो । त्यसकै लागि राज्यले लगानी (पे) गर्दछ । तर लहडमै आन्दोलनको तयारीको सर्कुलर ? संविधान संशोधन नै गर्ने मुद्दा अघि स-यो र जनाधिकार खुम्चाउने देखियो भने त नागरिक आफैँ जाग्छन् । प्रचण्डमा सत्ताधारी विरोधी मनोभाव किन यति धेरै ? अनि उनी आफैँ बोल्छन्, ‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं ।’ यो आफैँप्रति मजाक लाग्ने द्वैध चरित्रले देशको कुन पक्षको विकास गर्छ ? या दुई तिहाइको सरकार बनेको जलनको छटपटी ?
सरकारलाई काम गर्न नदिएर अल्झाउने सस्तो रणनीतिमा माओवादी अल्झिँदै आफ्नै पासोमा पर्ने तयारी हो भने जनार्दन शर्माहरू सही समयमा जागेका हुन् । किनभने प्रचण्डकै भाषाको ‘जनयुद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा छु’ ले देश कहाँ जान्छ ? जरुरतचाहिँ समाजवादी क्रान्तिको हो कि आर्थिक क्रान्ति, उन्नयनको जग बसाल्नु ?
समाजवादी क्रान्तिले सम्पत्ति, उद्योग, उत्पादनका साधनहरू निजी स्वामित्वबाट सामूहिक स्वामित्वमा ल्याउँछ । यसो गर्दा समाजका हरेक सदस्यलाई समान अवसर र अधिकार प्राप्त हुन्छ । समाजवादी क्रान्तिको उद्देश्य सबै मानिसलाई समानताको आधारमा जीवनयापन गर्न सक्षम बनाउन राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनु हो । के तपाईं आफ्नो परिवारबाट बाहिरका (अरू नागरिक छोडौँ) माओवादी तपाईंकी छोरी सरह देख्ने मुटु छ ? छ भने ती गोलीका टुक्रा शरीरमा राखेर बाँचिरहेका, उपचार गर्न नसकी बैसाखीको सहाराले उभिएका र तपाईंको उक्साहटमा जिन्दगी नर्क बनाएकाहरूलाई उकास्नुस् अनि छलफल गरौँला । होइन भने देश अशान्त बनाउने हक कसैलाई छैन । शासनमा बसेका सेख हसिना, राजापक्षे वा असरअफ घानी मात्रै भाग्नुपर्छ भन्ने छैन, जन प्रतिकार भएमा विपक्षमा बसेको नेता भाग्ने देश नेपाल बन्न सक्छ । किनकि देश आर्थिक उन्नति र भौतिक संरचनागत विकास पर्खिरहेको छ । तिम्रा क्रान्ति आफ्नो दराजमा राख । त्यसैले यो उनको विथड्रल सिम्पटम्स हो, क्रान्ति होइन, उपचार जरुरी छ ।
यस्तै परिदृश्यबारे केही दिनअघि एकजना चिनियाँ–अमेरिकी इकोनमिस्ट डा. नान्सी चियानले प्रोजेक्ट सिन्डिकेटमा ‘अमेरिकालाई राजनीतिक उमेर सीमाको आवश्यकता’ शीर्षकमा एउटा लेख लेखेकी छिन् । उनले ‘अमेरिकी सैन्य अधिकारीहरूका लागि अनिवार्य अवकाश उमेर निर्धारण गरिएको छ किनकि अमेरिकी सेनाका सैनिक र हतियारहरूको नेतृत्व गर्नेहरू पूर्ण रूपमा सक्षम छन् भन्ने सुनिश्चित गर्नु आवश्यक छ । तर सैन्य नियन्त्रण गर्ने र अमेरिकी कानून लेख्ने पुरुष र महिलाहरूका लागि …
प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ५ : ४८ बजे
प्रतिक्रिया